काठमाडौं, भदौ १२ । सुदूरपश्चिम सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्णप्रसाद भट्टलाई नियुक्त गरेको छ । आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उपाध्यक्षमा भट्ट र अन्य दुई जनालाई सदस्य नियुक्त गर्ने निर्णय गरेको हो ।
आयोगको सदस्यमा दार्चुलाका गंगादत्त जोशी र कञ्चनपुरका डा. हिरा चन्दलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले जानकारी दिए । आयोगका दुई सदस्य नियुक्त हुन बाँकी छन् ।
उपाध्यक्षमा नियुक्त कञ्चनपुरका भट्ट नेपाली कम्युनिस्ट पार्टी नेकपा तथा सदस्यहरू जोशी र चन्द नेकपा एमालेको कोटाबाट नियुक्त भएका हुन् । सञ्चार, सामाजिक वकालत, नीति अनुसन्धान तथा सार्वजनिक नीतिको क्षेत्रमा लामो अनुभव हासिल गरेका भट्टलाई प्रदेशको नीति तथा योजना निर्माणको नेतृत्व गर्ने जिम्मेवारी दिइएको हो। भट्टले आफ्नो व्यावसायिक यात्रा सञ्चारकर्मीका रूपमा सुरु गरेका थिए।
विशेषगरी सचेत सञ्चार मञ्चमार्फत सञ्चार वकालत, सार्वजनिक बहस तथा नीतिगत संवादमा सक्रिय रहेका भट्टले सामाजिक न्याय, दलित अधिकार, एचआईभी प्रभावित समुदाय, महिला तथा सीमान्तकृत समुदायका सवाल, प्राकृतिक स्रोत तथा भूमि अधिकारलगायतका विषयमा अभियान, अनुसन्धान, नीति संवाद र वकालत गरेका छन्।



