काठमाडौं,भदौ २२ । प्रधानमन्त्री वालेन्द्र शाहले साधन स्रोतको सीमितताबिच जलविद्युत् आयोजनाका सुरुङमा उद्धार जारी रहेको बताएका छन् । सोमबार फेसबुकमार्फत विपद् व्यवस्थापन तथा उद्धारका विवरण सार्वजनिक गर्दै उनले सुरुङमा भइरहेका उद्धार प्रयासबारे जानकारी दिएका हुन् ।
रसुवा–नुवाकोटका बाढी प्रभावित जलविद्युत् आयोजना क्षेत्रमा बेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्यलाई अन्तिमसम्म जारी राख्ने बताएका छन् ।
’’आयोजना क्षेत्रहरूबाट पनि मानिसहरू सम्पर्कविहीन भएकाले हामीले सुरुवातदेखि हालसम्म खोज तथा उद्धार कार्य जारी राखेका छौँ,’’ प्रधानमन्त्रीले भनेका छन्, हामी नेपाली मानवतावादी छौं। त्यसैले स्रोत, साधन, समयको सीमिताताभित्र पनि यो कार्यलाई अन्तिमसम्म जारी राख्ने छौं।
प्रभावित आयोजनाहरुमा खोज तथा उद्धारको हालसम्मको संक्षिप्त स्थितिः
रसुवागढी जलविद्युत् आयोजना
प्रधानमन्त्री बालेनका अनुसार रसुवागढी जलविद्युत् आयोजनामा हालसम्म हेलिकप्टर ल्यान्ड हुन नसक्दा उद्धारका सामाग्री पठाउन कठिनाइ भयो । यद्यपि सुरुङको २७५ मिटरसम्म नेपाली सेना पुगेको उनले बताए । हाल हेलिकप्टरबाट मिनी एक्स्काभेटर झारेर त्यस क्षेत्रमा खोजी जारी रहेको उनले जानकारी दिएका छन् ।
लाङटाङ जलविद्युत् आयोजना
लाङटाङमा ग्यास वेल्डिङमार्फत प्वाल पारेर उद्धारको प्रयास गर्दा दुई शव फेला परेको प्रधानमन्त्रीको भनाइ छ । उक्त आयोजनामा पनि उद्धार प्रयास जारी रहेको उनले जानकारी दिएका छन् ।
चिलिमे जलविद्युत् आयोजना
दलदलका कारण उद्धारमा कठिनाइ भएको चिलिमे जलविद्युत् आयोजनामा भारतबाट आएको विशेषज्ञ टोलीको रेकीपछि भदौ १४ गते उद्धार प्रारम्भ भएको उनले बताए । उनका अनुसार सुरुङबाट ९० मिटरभित्र प्रवेश गर्दा दुई शव भेटिएका छन् ।
माथिल्लो त्रिशूली १ आयोजना,
माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना क्षेत्रमा पनि भदौ १० बाट खोज कार्य सुरु भएको प्रधानमन्त्रीको विवरणमा उल्लेख छ । भदौ १४ गतेबाट नेपाली सेना र चिनियाँ विशेषज्ञको टोलीले खोज कार्य सुरु गरेकोमा २०० मिटर भित्रसम्म प्रवेश गर्दा ताल देखियो प्रधानमन्त्रीले बताएका छन् । तालमा थर्मल ड्रोनको प्रयोग गरी खोजी कार्य गरेकोमा तीन शव फेला परेको र एकजनालाई जीवितै उद्धार गरिएको प्रधानमन्त्रीको भनाइ छ ।
त्रिशूली ३ ए, आयोजना,
त्रिशूली ३ एमा भदौ १३ गते उद्धार सुरु भएको उनले बताएका छन् । ६ वटा एक्स्काभेटर प्रयोग गरी २५ मिटर खनेपछि बिजुलीको तारका लागि प्रयोग हुने सुरुङ पत्ता लागेको उनले बताएका छन् । उक्त सुरुङबाट उद्धार टोली प्रवेश गरेको र उनले बताए । त्यहाँ थर्मल इमेजिङ, इन्फ्रारेड क्यामेरा प्रयोग गरी खोजी जारी राखेको उनको भनाइ छ ।
त्रिशूली ३ बी आयोजना
त्रिशूली ३ बी मा अडिट सुरुङको १.७ किलोमिटर भित्र उद्धार टोली प्रवेश गरेको बताएका छन् । त्यसपछि सुरुङभित्र एउटा गाडी फेला परेको उनको विवरणमा भनिएको छ । खोजी कार्यका लागि थप उपकरण लग्ने क्रम जारी रहेको उनले बताएका छन् । आयोजनाको ६ वटा आवासीय र १ कार्यालय भवन बाढीका कारण पुरिएका छन्। ती संरचना पत्ता लगाउन १५ मिटर गहिराइसम्म उत्खनन भइसकेको प्रधानमन्त्रीले जानकारी दिएका छन् ।



