२०८३, असोज ७ गते

बुधबार, असोज ७ गते २०८३

बुधबार, असोज ७ गते २०८३

भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान

भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान

साझा पोष्ट
शनिबार, असोज ३ २०८३
  • images
    images
    भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान

    काठमाडौं,असोज ३ ।अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी र व्यवसायीलाई नेपालमा लगानी गर्न आह्यवान गरेका छन् ।  


    images

    नयाँ दिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रीले आयोजना गरेको व्यापार तथा लगानी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री वाग्लेले नेपालमा लगानीका लागि यो उपयुक्त समय भएको समेत बताए।

     भारतीय व्यवसायिक नेताहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेकाे कार्यक्रममा उनले नेपालमा  अवसरहरूको खोजी र विस्तार गर्न आह्वान गरे । 

    समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा उदीयमान लगानीका अवसरहरूमाथि प्रकाश पार्दै देशको आर्थिक रूपान्तरणमा सहभागी हुन भारतीय व्यवसायीहरूलाई आमन्त्रण गरे।

    उनले नेपालले उच्च वृद्धिको सम्भावना भएका क्षेत्रहरूमा लगानीका लागि ठूलो अवसर प्रदान गर्ने उल्लेख गर्दै पहिले नै नेपालमा सञ्चालित भारतीय कम्पनीहरूलाई आफ्नो लगानी विस्तार गर्न र नयाँ लगानीकर्ताहरूलाई नेपाली बजारको खोजी गर्न आग्रह गरे।

    मन्त्री वाग्लेले नेपाल सरकार सुशासन, आर्थिक समृद्धि, लगानी सहजीकरण र संरचनात्मक आर्थिक रूपान्तरणको एजेन्डामा अघि बढिरहेको कुरामा जोड दिए। उनले नीतिगत सुधारलाई तीव्र बनाउन र अझ बढी अनुमानयोग्य, पारदर्शी तथा लगानीकर्ता-मैत्री व्यवसायिक वातावरण सिर्जना गर्न सरकारले गरिरहेका प्रयासहरूको चर्चा गरे।

    ‘डिजिटलाइजेसन, स्वच्छ ऊर्जा, उच्च मूल्यको कृषि, वेलनेस पर्यटन र उत्पादन साझेदारीको अवधारणामा आधारित उत्पादन क्षेत्र नेपालको अर्थतन्त्रका महत्वपूर्ण वाहकका रूपमा उदय भइरहेका छन्,’ मन्त्री वाग्लेले भने, ‘भारतीय व्यवसायीहरूलाई नेपाललाई बजारको रूपमा मात्र नभई लगानी, उत्पादन, मूल्य अभिवृद्धि र क्षेत्रीय तथा विश्वव्यापी आपूर्ति श्रृंखलामा एकीकरणका लागि रणनीतिक साझेदारको रूपमा हेर्न चाहन्छौं।‘


    अर्थमन्त्री वाग्लेले वार्षिक बजेट, कर सुधार र लगानीकर्ता-मैत्री नीतिगत पहलहरूमार्फत नेपाल सरकारले हालै चालेका कदमहरू व्यवसायिक वातावरण सुधार गर्न, लगानीका बाधाहरू हटाउन र निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धिलाई सहज बनाउन लक्षित रहेको स्पष्ट पारे।

    वाग्लेले खासगरी लगानी, उत्पादन, ऊर्जा, पर्यटन, कृषि, डिजिटल अर्थतन्त्र र अन्य उदीयमान क्षेत्रहरूमा नेपाल-भारत आर्थिक साझेदारीको ठूलो सम्भावना रहेकोमा जोड दिए।

    उनले नेपाल र भारतबीचको दीर्घकालीन आर्थिक सम्बन्धले द्विपक्षीय व्यापार र लगानी विस्तारका लागि बलियो आधार प्रदान गरेको उल्लेख गरे।

    अन्तरक्रियामा सहभागी भारतीय व्यवसायिक नेताहरू तथा सिआइआइका सदस्यहरूले नेपालमा व्यापार र लगानीका अवसरहरू खोज्न गहिरो रुचि व्यक्त गरे।

    सहभागीहरूले अर्थमन्त्रीसँग सम्भावित सहकार्यका क्षेत्रहरूमा छलफल गर्नुका साथै नेपालको लगानी नीति, सुविधा, क्षेत्रगत अवसरहरू र व्यवसायिक वातावरणका बारेमा थप जानकारी मागेका थिए।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार