काठमाडौं,असोज ४ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा सडक कटान गरी वैकल्पिक मार्ग निर्माण गरेर यातायात सञ्चालनमा ल्याइएको छ।
गएको भदौ १० गतेको बाढीले असर पारेका कारण कृष्णभीरमा ठूलो पहिरो खसेर करिब १८ दिन अवरुद्ध सडक यही असोज १ गतेदेखि सञ्चालनमा आएको हो। राजमार्ग अवरुद्ध हुँदा काठमाडौंलगायत देशका विभिन्न भागबाट आउनेजाने सवारीसाधन प्रभावित भएका थिए।
मुख्य सडक नै क्षतिग्रस्त भएपछि यात्रु तथा मालवाहक सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको थियो। सडक अवरुद्ध भएपछि सडक विभागले तत्काल वैकल्पिक सडक निर्माण तथा कटानको काम अघि बढाएका थियो।
नागढुंगा-मुग्लिङ सडक योजना पश्चिम खण्डकी प्रमुख सजना अधिकारीले कृष्णभीरमा पहिरो खसेपछि तत्काल वैकल्पिक मार्गको खोजिमा लागेको बताइन्। सुरुमा केही अलमलमा परेपनि पहिलो गएको दोस्रो दिनमा वैकल्पिक सडकको लागि मार्ग पहिचान गरिएको उनको भनाइ छ।
पहिरोको माथिल्लो भागमा तुलनात्मक रूपमा समथर भूभाग भेटिएपछि त्यही क्षेत्रबाट सडक निकाल्ने योजना बनाइएर काम थालिएको थियो। काम सुरु गर्न एकदमै जटिल अवस्था रहेको उनले स्मरण गरिन्।
काम सुरु गर्दा एक्साभेटर सञ्चालन गर्नसमेत अपरेटरहरू डराएको उनले बताइन्। जोखिम न्यूनीकरणका लागि प्रत्येक मेसिनमा अपरेटरसँगै हेल्पर राखिएको तथा फ्ल्यागमार्फत निरन्तर निगरानी गरिएको उनको भनाइ छ।
दुवैतर्फबाट मेसिन चलाएर दुई दिनमा ट्रयाक खोल्ने काम सकिएको उनले बताइन्। उनका अनुसार वैकल्पिक सडक निर्माण गरि हाल कृष्णभीरबाट ठूला मालवाहक तथा अन्य सवारीसाधन सहज रूपमा सञ्चालन भइरहेका छन्।
रातिको समयमा समेत सडकमा बत्तीको व्यवस्था गरिएको उनले बताइन्। तर सो क्षेत्रमा सडक पहिरोको बारेमा भने अध्ययन गर्न आवश्यक रहेको उनको भनाइ छ।
सडकको माथिल्लो भागको पहिरो दीर्घकालीन रूपमा स्थिर भएको हो वा होइन भन्ने विषयमा थप अध्ययन गर्नुपर्ने उनले बताइन्। हाल सक्रिय पहिरोको टो काटेर सडक सञ्चालनमा ल्याएकाले भू-स्थायित्वबारे थप अध्ययन गर्नुपर्ने उनको भनाइ छ।
नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष सहदेव खड्काले अत्याधिक जोखिम मोलेर कृष्णभीरमा सडक निर्माण गरिएको बताए।
पुरानो सडक पहिरोले बगाइसकेको र बाँकी भूभागसमेत चिराचिरा परेको अवस्थामा काम अघि बढाइएको उनको भनाइ छ।
सडक निर्माणका क्रममा सडक विभागका अधिकारी, आयोजना प्रमुख, परामर्शदाता, जियोटेक विज्ञ, इन्जिनियर तथा निर्माण कम्पनीका प्राविधिक र मजदूर फिल्डमै बसेर काम गरेका थिए।
जोखिमका बाबजुद काठमाडौंमा ग्यास बुलेट, पेट्रोलियम पदार्थ तथा ठूला मालवाहक सवारीसाधन सञ्चालनका लागि कृष्णभीरमा सडक निर्माण गरिएको उनको भनाइ छ।
खड्काले सरकारले सहज वातावरण बनाईदिएमा कृष्णभीरमा जस्तै अन्य स्थानमा पनि समयमा नै काम सम्पन्न गर्न सकिने बताए।
नेपालमा पूर्वाधार निर्माण ढिलो हुनुमा निर्माण व्यवसायीलाई मात्र दोष दिन नहुने उनको भनाइ छ। आयोजना सुरु हुनुअघि मुआब्जा, विद्युतका पोल, वन तथा रुख कटान, नदीजन्य निर्माण सामग्री, क्रसर र अस्फाल्ट प्लान्टलगायतका विषय सरकारले समयमै व्यवस्थापन गर्नुपर्ने उनले बताए।
निर्माण व्यवसायीलाई आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउने, सुरक्षाको प्रत्याभुति गर्ने र समयमा भुक्तानी गर्ने व्यवस्था भए पूर्वाधार निर्माणले गति लिने उनको भनाइ छ।
निर्माण क्षेत्रलाई देशको पूर्वाधार विकासको महत्वपूर्ण क्षेत्रका रूपमा लिएर सरकारले निर्माण व्यवसायीसँग समन्वय बढाउनुपर्ने उनले बताए।



