काठमाडौं, मंसिर ११ । परराष्ट्र मन्त्रालयले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन नेपाल र भारत दुवै देशका प्रधानमन्त्री समक्ष पेस हुने अपेक्षा गरिएको जनाएको छ ।
परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यस्ताे बताएका हुन् ।“ईपीजी प्रतिवेदन दुवै प्रधानमन्त्री समक्ष पेस गर्न समय प्राप्त हुनेछ भन्ने हाम्रो अपेक्षा रहेको छ,” परराष्ट्र प्रवक्ता क्षेत्रीले भने ।
भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले गत सोमबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा ईपीजी पुरानो भएको र यसको औचित्य सकिएको भन्ने अभिव्यक्ति दिएका थिए । त्यसपछि परराष्ट्रले शुक्रबार मुख खोलेको हो ।
‘ईपीजीले उक्त प्रतिवेदन दुवै प्रधानमन्त्रीज्यूहरू समक्ष पेश गर्न समय प्राप्त हुनेछ भन्ने हाम्रो विश्वास छ। सो समयसम्म ईपीजी गठन हुनुका मूलभूत उद्देश्यहरु थिए, ति दुई पक्षीय विषयलाई दुवै पक्षले संयुक्त रुपमा ति सम्बन्धी कामलाई निरन्तरता दिनुपर्छ भन्ने हाम्रो विश्वास छ।’ परराष्ट्र प्रवक्ता क्षेत्रीले भने ।
दुई देशबीचका सन्धि तथा सम्झौताको पुनरावलोकन र समग्र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उपाय सुझाउने उद्देश्यले समूह गठन गरिएको थियो ।
२०७५ सालमा तयार भएको ईपीजी प्रतिवेदन भारतका प्रधानमन्त्रीले बुझ्न मानेका छैनन् । लामो समयसम्म प्रतिवेदन बुझ्न नमानेपछि ईपीजीमा नेपालतर्फका संयोजक भेषबहादुर थापाले २०८३ जेठ २१ गते ईपीजी प्रतिवेदन राखेको दराजको साँचो परराष्ट्रमन्त्री खनाललाई बुझाएका थिए ।
ईपीजी प्रतिवेदन तयार पार्दा प्रतिवेदन पहिला भारतका प्रधानमन्त्रीलाई बुझाउने र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने सहमति भएको थियो। तर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिवेदन बुझ्न नमान्दा अहिले यो प्रतिवेदन दराजमा थन्किएको छ ।



