काठमाडौं, असोज ५ । पार्टी पूनर्गठनको मुद्दा चर्को रुपमा उठिरहेका बेला नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झन आक्रामक रुपमा प्रस्तुत भएका छन् ।
आफ्नो नेतृत्वमाथि प्रश्न उठाउने र 'हट्नुपर्छ' भनेर आवाज उठाउनेहरुविरुद्ध उनी केन्द्रीय कमिटीमै अनुदार रुपमा प्रस्तुत भएका हुन् । उनले आफ्नो समर्थन नगर्नेहरुमाथि प्रतिशोध पनि साँधेका छन् ।
ललितपुरको भनिमण्डलमा सुरु भएको बैठक ओली आफैले चलाएका छन् । पहिले महासचिवले चलाउने गरेपनि ओलीले आफूमाथि प्रश्न उठाउने महासचिव शंकर पोखरेललाई कार्यक्रम चलाउन दिएनन, जसको बैठकमै विरोध भएको छ, तर त्यो निकै कमजोर देखियो । नेता कृष्ण गोपाल श्रेष्ठ र कर्ण थापाले विरोध गरेपनि ओलीले पेलेरै बैठक चलाए ।
श्रेष्ठले बैठक सञ्चालन विधि र प्रक्रियाअनुसार हुनुपर्ने भन्दै महासचिवलाई बैठक चलाउन दिनुपर्ने धारणा राखेका थिए। त्यस क्रममा ओली र श्रेष्ठबीच बैठक हलमै चर्काचर्की भएको थियो । श्रेष्ठले बैठक विधि र प्रक्रियाअनुसार सञ्चालन हुनुपर्ने भन्दै महासचिव पोखरेललाई बैठक चलाउन दिनुपर्ने धारणा राखेका थिए। त्यस क्रममा ओली र श्रेष्ठबीच बैठक हलमै चर्काचर्की भएको थियो।
ओलीले बैठक सञ्चालन गर्न खोजेपछि श्रेष्ठ आसनबाट उठेर आपत्ति जनाउँदै भनेका थिए, ‘यो काम महासचिवको हो। तपाईंले सञ्चालन गर्न मिल्दैन। विधि–प्रक्रियाअनुसार जानुपर्छ।’ श्रेष्ठको आपत्तिपछि ओलीले उनलाई तत्काल नबोल्न आग्रह गर्दै भनेका थिए, ‘तपाईं बस्नुस्। तपाईं अहिले बोल्न मिल्दैन।’ ओलीको भनाइपछि श्रेष्ठ थप आक्रोशित हुँदै प्रतिवादमा उत्रिएका थिए।

उनले ओलीलाई भनेका थिए, ‘तपाईं मलाई रोक्ने को हो ? यो पार्टीमा मेरो पनि उत्तिकै योगदान छ। के गर्न सक्नुहुन्छ, गर्नुस्। तपाईंले गर्ने के हो, गरे हुन्छ। पार्टी तपाईंको मात्रै हो ? यस्तो तरिकाले पार्टी चल्छ ?’
श्रेष्ठले आफ्नो पनि पार्टीमा लामो योगदान रहेको भन्दै आफ्नो फूलेको कपाल देखाएर लुक एट माइ हेयर भनेका थिए । यस्तै केन्द्रीय सदस्य कर्ण थापाले आफूले पनि राजनीतिक प्रतिवेदन बनाएको भन्दै पेश गर्न अनुमति मागेका थिए । तर ओलीले अनुमति दिएनन् । ‘त्यो म हेर्छु तपाईँ अहिले बस्नुस्’ भन्दै पन्छाइदिएका छन् ।
ओलीले बैठक सञ्चालनमा पनि कडा नियम लागू गरेका छन्। मंगलबारदेखि बैठकस्थलमा मोबाइल फोन नल्याउन निर्देशन दिइएको छ। मोबाइलबाट भिडियो खिच्न, रेकर्ड गर्न तथा लाइभ गर्नसमेत रोक लगाइएको छ। केन्द्रीय सदस्यहरूलाई बोल्न तीन मिनेटको समय दिइएको छ र बोल्दा वा आफ्नो आसन छाड्दा अध्यक्षको अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ।
ओलीले पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदन छुट्टै प्रस्तुत गर्न पनि रोकेका छन्। ‘पुनर्गठन कार्यदलको प्रतिवेदन पार्टीको सम्पत्ति भइसक्यो। त्यसलाई सम्पत्तिको रूपमा राख्ने निर्णय भएको छ,’ ओलीले भने, ‘त्यसलाई समेत ध्यानमा राखेर अध्यक्षको प्रतिवेदन तयार भयो।’
पार्टी पुनर्गठनका विषयमा महासचिव शंकर पोखरेलले प्रारम्भिक प्रतिवेदन तयार गरेका थिए। त्यसपछि ओलीकै निर्देशनमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले अर्को प्रतिवेदन तयार पारेका थिए। दुईथरी प्रतिवेदन आएपछि विषय थप जटिल बनेको भन्दै ओलीको निर्देशनमा नेता प्रदीप ज्ञवालीले समेत अर्को प्रतिवेदन तयार गरेका थिए।
विरोधीको मनोबल उकासेको आरोप
ओलीले बाहिरबाट हमला भइरहेको बेलामा पार्टीभित्रै पनि केही व्यक्तिहरू समस्या सिर्जना गर्न लागिपरेको आरोप लगाए ।
‘यतिबेला हामी एकजुट भएर, एकढिक्का भएर यस प्रतिकूलताको सामना गर्न, हामीमाथिको फाँसीवादी हमलाको प्रतिकार गर्न एकजुट भएर अघि बढ्नुपर्थ्यो,’ ओलीले भने, ‘तर पार्टीभित्रै केही व्यक्ति र तत्वहरू पार्टीभित्रै समस्या सिर्जना गर्न उद्धत भए । समस्याको सिर्जना गरे ।’
पार्टीभित्रको बहस पार्टी समितिभित्रै छलफल गर्नपर्ने उनको भनाइ थियो । उनले योगेश भट्टराईलाई लक्षित गर्दै जगहसाइँ गरेको आरोप लगाए ।
‘तर मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो, जस्ता कुराहरू बोल्ने ? तपाईं पार्टीमा हुनुहुन्छ भने पार्टीमा छलफल गर्नुस् न, बाहिर गएर जगहस्याँइ गर्ने, पार्टीको प्रतिष्ठा कमजोर पार्ने, विपक्षीको मनोबल उठाउने, विपक्षीलाई खुसी बनाउने, यस प्रकारका क्रियाकलाप हुन हुँदैन,’ ओलीले भने ।

कुनै हालतमा पार्टीको नेतृत्व नछोड्ने
ओलीले कुनै हालतमा पार्टीको नेतृत्व नछोड्ने बताएका छन् । उनले यही आसयसहितको राजनीतिक प्रतिवेदन पार्टीको केन्द्रीय कमिटी बैठकमा पेश गरेका छन् ।
उनले पार्टी पनुर्गठनको बहस र मुद्दालाई लहडको विषय नबनाउन चेतावनी दिएका छन् ।उनले भनेका छन ‘के हो पुनर्गठन? कस्तो अवस्थामा हुन्छ ? के नेतृत्व विस्थापन गर्ने कुरालाई पुनर्गठन भनिन्छ? हाम्रो धारको आन्दोलनमा कति पल्ट र कहिले कहिले पुनर्गठन भएको छ भन्ने कुरा हामीले राम्ररी बुझ्न जरुरी छ। पार्टी पुनर्गठन कुनै रहर वा लहडको विषय होइन ।’
पार्टी कस्तो अवस्थामा छ भन्ने ख्याल नगरी नेतृत्व विस्थापन गर्ने कार्य पुनर्गठन नहुने उनको तर्क छ ।
'म स्पष्ट भन्न चाहन्छु, काम गर्न नसक्ने दिन आएपछि म कसैले धक्का दिनुअघि नै बाटो छोड्न जान्दछु । सङ्गठनले नयाँ नेतृत्व परिपक्व रूपमा तयार गरेको दिन, पार्टीले विधि, समझदारी र भविष्यको सुरक्षासहित सङ्क्रमणको बाटो बनाएको दिन, परिस्थिति पार्टीको पुनर्निर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको नयाँ संकल्प स्थिर भएको दिन, मैले बाटो रोक्ने काम गर्दिनँ। म नेतृत्व हस्तान्तरणको विरोधी होइन । उनले भनको छन, म हस्तान्तरणको नाममा अव्यवस्थाको विरोधी हुँ। म पुस्तान्तरणको विरोधी होइन । म पुस्ताबिच अविश्वास रोप्ने राजनीतिक अधैर्यताको विरोधी हुँ। म रूपान्तरणको विरोधी होइन ।म रूपान्तरणको नाममा पार्टीको मेरुदण्ड भाँच्ने प्रवृत्तिको विरोधी हुँ ।'
उनले अझ अगाडि भनेका छन, मेरो स्वभावमा केही कुरा छन्, जसलाई कतिले कठोर भन्छन् । म सीधा बोल्छु । कहिलेकाहीँ मेरो शब्द कडा लाग्न सक्छ। तर मेरो नियत पार्टी बचाउने हो। मेरो स्वभाव सम्झौता गर्नेभन्दा पहिले सत्यलाई हेर्ने हो । मलाई झुक्न गाह्रो लाग्छ, किनभने मैले जीवनभर अन्यायसँग झुक्न सिकिनँ।'
उनले राष्ट्रिय राजनीतिदेखि पार्टी भित्रका समस्या र आगामी कार्यभार सम्मका धारणा समेटेर ल्याएको प्रतिवेदनमा इतिहासमा पार्टी कसरी पुनर्गठन भएका थिए भन्ने दृष्टान्त समेत पेश गरेका छन् । केशरजंग रायमाझीको दरबार प्रवेशदेखि झापा आन्दोलन र २०७५ सालसम्मका विगतका तीनवटा पुनर्गठनका घटनालाई सन्दर्भमा ल्याएर उनले अहिलेको अवस्था त्यस्तो नभएको उल्लेख गरेका छन् ।



