२०८३, असोज २१ गते

बुधबार, असोज २१ गते २०८३

बुधबार, असोज २१ गते २०८३

विमानस्थल निर्माणदेखि सञ्चालनसम्मै निजी क्षेत्रको साथ खोज्दै सरकार

विमानस्थल निर्माणदेखि सञ्चालनसम्मै निजी क्षेत्रको साथ खोज्दै सरकार

साझा पोष्ट
बुधबार, असोज २१ २०८३
  • images
    images
    विमानस्थल निर्माणदेखि सञ्चालनसम्मै निजी क्षेत्रको साथ खोज्दै सरकार

    काठमाडौं,असोज २१  । सरकारले विमानस्थल निर्माणदेखि स्तरोन्नति, व्यवस्थापन र सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउन कानुनी बाटो खोल्ने तयारी गरेको छ । संघीय संसद्मा पेस भएको ‘नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८३’ ले विमानस्थल पूर्वाधारमा स्वदेशी तथा विदेशी निजी पूँजी परिचालन गर्नसक्ने व्यवस्था प्रस्ताव गरेको हो । विमानस्थलजस्तो ठूलो पूर्वाधार निर्माणमा सरकारी स्रोत मात्र पर्याप्त नहुने भएपछि सरकारले कानून बनाएर स्वदेशी तथा विदेशी लगानी परिचालनको कानूनी आधार तयार गर्न खोजेको छ । विधेयकको दफा ४५ मा संयुक्त लगानीसम्बन्धी व्यवस्था गरिएको छ । 
    उक्त व्यवस्थाअनुसार प्राधिकरणले नेपाल सरकारको स्वीकृति लिएर स्वदेशी वा विदेशी लगानीकर्तासँग व्यावसायिक योजनाका आधारमा संयुक्त लगानीमा योजना तथा कार्यक्रम सञ्चालन गर्न सक्नेछ । त्यस्तै, स्वदेशी वा विदेशी सरकार वा संस्थासँग सार्वजनिक–निजी साझेदारी (पीपीपी) वा संयुक्त साझेदारीमा विमानस्थल निर्माण, स्तरोन्नति, सञ्चालन वा व्यवस्थापन गर्न सक्ने व्यवस्था प्रश्ताव गरिएको छ ।
    यसले विमानस्थल पूर्वाधार विकासका लागि सरकारको बजेटमा मात्र निर्भर रहनुपर्ने अवस्थाबाट बाहिर निस्केर निजी तथा विदेशी पूँजी परिचालन गर्ने कानूनी आधार तयार गर्ने सरकारी अपेक्षा छ । 
    विधेयकले विमानस्थलको सञ्चालन तथा व्यवस्थापनमा समेत निजी क्षेत्रको सहभागिताको बाटो खुला गर्न खोजेको छ । दफा १४ मा प्राधिकरणले विमानस्थल आफैं सञ्चालन गर्न सक्ने व्यवस्था छ । तर सेवा प्रवाहलाई प्रभावकारी बनाउन नेपाल सरकारको स्वीकृति लिएर कुनै सरकारी, गैरसरकारी निकाय वा निजी क्षेत्रलाई विमानस्थल वा विमानस्थलबाट प्रवाह हुने सेवा सञ्चालन तथा व्यवस्थापन गर्न दिन सक्ने प्रश्ताव गरिएको छ । 
    गैरसरकारी निकाय वा निजी क्षेत्रलाई विमानस्थल सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी दिँदा भने प्रतिस्पर्धात्मक प्रक्रिया अपनाउनुपर्ने व्यवस्था विधेयकमा राखिएको छ । यसले विमानस्थल सञ्चालनमा निजी क्षेत्रको सहभागितालाई कानूनी आधार दिनेछ ।
    तर विधेयकले विमानस्थल निर्माण तथा सञ्चालनलाई पूर्ण रूपमा खुला भने गरेको छैन । नयाँ विमानस्थल निर्माणका लागि प्राविधिक, भौगोलिक, पर्यटकीय तथा वातावरणीय उपयुक्तता, आर्थिक तथा व्यावसायिक सम्भाव्यता, स्वदेशी तथा वैदेशिक लगानीको सम्भाव्यता, सामाजिक उत्तरदायित्व तथा सामरिक र रणनीतिक महत्वलाई आधार बनाउनुपर्ने व्यवस्था गरिएको छ । प्रश्तावित विधेयकले विमानस्थललाई सरकारी लगानीबाट मात्र निर्माण तथा सञ्चालन गर्ने परम्परागत मोडलसँगै निजी तथा विदेशी लगानी र सार्वजनिक–निजी साझेदारीमार्फत विमानस्थल पूर्वाधार विकास तथा व्यवस्थापन गर्ने विकल्पलाई समेत कानूनी रूप दिन खोजेको देखिएको छ ।–न्युज एजेन्सी नेपाल


    images

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार