काठमाडौं, असोज २८ । संसदीय सुनुवाइ समितिले सरकारले प्रस्ताव गरेर पठाएका १३ मध्ये १० जना राजदूतहरूका नाम अनुमोदन गरेको छ भने दुई जनाको अस्वीकृत गरेको छ । एक जनाको निर्णय होल्डमा गरिएको छ ।
बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले भारत, चीन, संयुक्त राज्य अमेरिका लगायत १० देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन गर्ने निर्णय गरेको छ ।
समितिले साउदी अरेबिया र मलेसियाका लागि सिफारिस गरिएको २ जनाको नाम अस्वीकार गरेको छ भने जापानका लागि सिफारिस गरिएकाको नामका बारेमा निर्णय होल्डमा राखेको छ ।
अस्वीकृत गरिएको :
- गिरीबहादुर सुनार (साउदी अरेबिया)
- चुडामणि खरेल (मलेसिया)
अनुमोदन गरिएको :
- डा. निश्चलनाथ पाण्डे (भारत)
- डा. कल्याण राज शर्मा (चीन)
- चिरन जङ्ग थापा (अमेरिका)
- गौरब शम्शेर ज.ब.रा. (बेलायत)
- सरू जोशी (जर्मन)
- सुरेश कुमार कर्ण (इजरायल)
- पदमाक्षी राणा (ओमान)
- डा. संगम श्रेष्ठ (कोरिया)
- प्राप्ति शेरचन (स्पेन)
- मंचला कुमारी झा (श्रीलंका)
स्थगन :
- जीज्ञान कुमार थापा (जापान)
सरकारले यसपटक खुला प्रतिस्पर्धा मार्फत् आवेदन मागेर राजदूत सिफारिस गरेको दाबी गरेको थियो । तर त्यसरी सिफारिस भएका व्यक्ति पनि गम्भीर चारित्रिक विवादहरूमा फसेको पाएपछि संसदीय समितिले उनीहरूलाई राजदूत बनाउन नहुने निष्कर्ष निकालेको हो ।
मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेलमाथि स्वार्थको द्वन्द्व, आर्थिक लेनदेन, स्थानीय तहसँग अनुदान मिलाइदिने भन्दै रकम लिएको लगायतका गम्भीर उजुरी आएका थिए ।
ती उजुरीहरूमाथि सांसदहरूले राखेका जिज्ञाशामा उनले सुनुवाइका क्रममा चित्तबुझ्दो जवाफ दिन सकेनन् ।
त्यस्तै अस्वीकृत भएका साउदी अरबमा प्रस्तावित राजदूत सुनारमाथि विवाहेत्तर सम्बन्ध राखेको, मेलमिलाप गर्दै पूर्वप्रेमीसँग सम्बन्ध तोडेपछि पनि यातना, धम्की र आत्महत्या गर्न दबाब दिएको, जर्मन सरकारले हिरासतमा राखी हत्कडी लगाएर जर्मनीबाट नेपाल डिपोर्ट गरेको, प्रहरीको बढुवाका क्रममा रास्वपा सांसद खगेन्द्र सुनारसँग मिलेर ३३ लाख रुपैयाँ लिएको, पैसा उठाउने र व्यवस्थापन गर्ने गरेको लगायतका आरोप लागेका थिए ।
सुनारले सबै आराेप खण्डन गरे पनि समिति सहमत हुन सकेन् ।
जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापाको नाम अनुमोदन गर्ने नगर्नेबारे समितिले थप कागजात बुझेपछि मात्र निर्णय गर्ने भएको छ ।उनले जापानमा पीआर लिएको र त्यहाँको सरकारी सेवामा काम गरेको लगायतका उजुरी परेका छन् ।



