काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारीको मतगणनामा महामन्त्री (खुला)तर्फ प्रदीप पौडेल र अमरसिंह पुन मगरले अग्रता बनाएका छन्। उपसभापति (खुला)तर्फ डा. चन्द्रकान्त भण्डारी सबैभन्दा बढी मत प्राप्त गर्दै अगाडि देखिएका छन्।
यो समाचार तयार पार्दासम्म उपलब्ध मतगणनाको विवरणअनुसार महामन्त्री (खुला)तर्फ प्रदीप पौडेलले १७४ मत प्राप्त गरेका छन्। अमरसिंह पुन मगरले १२१ मत पाएका छन्। पौडेल र पुनबीच ५३ मतको अन्तर देखिएको छ।
महामन्त्री (खुला)तर्फ उदय शम्शेर राणाले ८९, डा. सुनिलकुमार शर्माले ६४, गुरुराज घिमिरेले ४२ र नैन सिंह महरले ३९ मत प्राप्त गरेका छन्। त्यस्तै, शंकर तिवारीले ६ र डा. सन्तोष उपाध्यायले ४ मत पाएका छन्।
उपसभापतिमा भण्डारी अगाडि
केन्द्रीय उपसभापति (खुला)तर्फ डा. चन्द्रकान्त भण्डारीले १४८ मत प्राप्त गरेका छन्। उपलब्ध मतपरिणामअनुसार उनी यस समूहमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारका रूपमा अगाडि छन्।
उपसभापति (खुला)तर्फ ई. मधु आचार्यले ८२, गोविन्द भट्टराईले ८१, सुरेन्द्रराज पाण्डेले ७३, दीपक गिरीले ६३ र धनराज गुरुङले ४६ मत प्राप्त गरेका छन्। त्यस्तै, प्रा.डा. चन्द्र मोहन यादवले २८ मत पाएका छन्।
भण्डारी र दोस्रो स्थानमा रहेका ई. मधु आचार्यबीच ६६ मतको अन्तर देखिएको छ। आचार्य र गोविन्द भट्टराईबीच भने एक मतको मात्र अन्तर छ।
समावेशी उपसभापतिमा जीवन परियार अगाडि
उपसभापति (समावेशी)तर्फ जीवन परियारले ७६ मत प्राप्त गरेका छन्। बिनोद कुमार चौधरीले ६२, रंजीत कर्णले ५४, सीता गुरुङले ४३ र फरमुल्लाह मंसुरले ३२ मत पाएका छन्।
महिला महामन्त्रीमा डिला संग्रौला अगाडि
महामन्त्री (महिला)तर्फ डा. डिला संग्रौला (पन्त)ले १४१ मत प्राप्त गरेकी छन्। महालक्ष्मी उपाध्याय (डिना)ले १२१ र रीता खनालले २८ मत पाएकी छन्। संग्रौला र उपाध्यायबीच २० मतको अन्तर देखिएको छ।



