काठमाडौं, मंसिर ७ । सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण बहुआयामिक हिसावले सफल र उपलब्धिमुलक भएको बताएकाे छ ।
सोमवार साँझ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहको दुई दिने राजकीय भ्रमणबारे ब्रिफिङ गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले यस्ताे बताएका हुन् । उनका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री साह र समकक्षी नरेन्द्र मोदीबीच दुई देशबीच पारवहन, रेलमार्ग, ऊर्जा, पूर्वाधार तथा सीमापार सम्पर्क सञ्जाल लगायतका महत्वपूर्ण विषयमा सहमति भएका छन् । परराष्ट्रमन्त्री खनालले भारतले नेपालको पारवहन व्यापारका लागि गुजरातस्थित दीनदयाल (कान्डला) बन्दरगाह हुँदै नयाँ सम्पर्क मार्ग उपलब्ध गराउने समझदारी भएको बताए ।
आवश्यक पूर्वाधार तयार भएपछि ओडिसास्थित पारादीप बन्दरगाहमा समेत नेपाललाई पहुँच उपलब्ध गराइने उनले जानकारी दिए । उनले दुवै देशका प्रधानमन्त्रीले अयोध्या र जनकपुरबीच सञ्चालन हुने सरयू–कमला एक्सप्रेस रेल सेवाको उद्घाटन गरेकाे समेत जानकारी दिए । मन्त्री खनालले प्रश्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको स्थलगत मार्ग निर्धारण सर्वेक्षण अन्तिम रूप दिनुका साथै नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकासका लागि समेत दुवै देशले सहकार्य गर्ने सहमति भएको बताए ।
उनले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाको शिलान्यास गरिएको तथा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र अन्तिम रूप दिन तथा सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको अध्ययन तिब्र पार्न दुवै पक्ष सहमत भएको समेत जानकारी दिए । उनकाअनुसार इनरुवा–नयाँ पूर्णिया र दोधारा–बरेली सीमापार विद्युत प्रशारण लाइन निर्माणका लागि संयुक्त उद्यम गठन गर्ने प्रक्रियामा भएको प्रगतिप्रति दुवै पक्षले सन्तोष व्यक्त गरेका छन् ।
मन्त्री खनालले भ्रमणका क्रममा भैरहवा, सुनौली र दोधारा–चाँदनीमा आइसिपी निर्माणलाई तिव्रता दिनुका साथै भारतको धार्चुला र नेपालको दार्चुलाबीच निर्माण भएको नयाँ सीमापार सवारीसाधन सञ्चालनयोग्य पुलको समेत उद्घाटन गरिएको समेत बताए। त्यसैगरी भ्रमणका क्रममा मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण उद्घाटन गरी नेपाली जनतालाई समर्पण गरिएको तथा झापामा पेट्रोलियम टर्मिनल निर्माणको शिलान्यास गरिएको समेत मन्त्री खनालले जानकारी दिए । उनका अनुसार काठमाडौं–भैरहवा–लखनउ दुईतफी हवाई सञ्चालनको लागि समेत भारत सहमत भएको छ ।
उनले प्रधानमन्त्री साहको भारत भ्रमण दुई देशबीचको सम्बन्ध विस्तार तथा नेपालको बहुआयामिक विकासमा सहकार्यको लागि कोशेढुंगाा भएको विश्वास व्यक्त गरे । भारतको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डल सोमवार साँझ स्वदेश फर्किएको हो । –न्युज एजेन्सी नेपाल



