काठमाडौं, मंसिर ९ ।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ परेका छन्।
हङकङबाट क्याथे प्यासेफिकको विमानमा गएराति काठमाडाैँ आएका उनीहरूलाई मङ्गलबार राति नै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा चीनको ग्वाङ्दोङ स्थायी वतन भएकी ४५ वर्षीया लिन लिना र ग्वाङ्दोङकै ३५ वर्षीया लिन जिनपिङ छन् । भन्सार क्षेत्र पार गरी बाहिर निस्कने क्रममा जाँच गर्दा उनीहरूले मलद्वार तथा भित्री बस्त्रभित्र प्लास्टिकले बेरी लुकाइछिपाई ल्याएको अवस्थामा ८ थान गोलाकार अर्धठोस पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार बरामद सुनको परीक्षण तथा थप अनुसन्धान भइरहेको छ।



