२०८३, मंसिर ११ गते

बिहीबार , मंसिर ११ गते २०८३

बिहीबार , मंसिर ११ गते २०८३

भोटेकोशी बाढी प्रभावित जलविद्युत आयोजना पुनर्निर्माणका लागि नीतिगत सहजीकरण गर्न सरकारसँग निजी क्षेत्रको माग

भोटेकोशी बाढी प्रभावित जलविद्युत आयोजना पुनर्निर्माणका लागि नीतिगत सहजीकरण गर्न सरकारसँग निजी क्षेत्रको माग

साझा पोष्ट
बुधबार, मंसिर १० २०८३
  • images
    भोटेकोशी बाढी प्रभावित जलविद्युत आयोजना पुनर्निर्माणका लागि नीतिगत सहजीकरण गर्न सरकारसँग निजी क्षेत्रको माग
    images

    काठमाडौं, मंसिर ९  । भोटेकोशी बाढीबाट प्रभावित जलविद्युत आयोजनाको पुनर्निर्माणका लागि निजी क्षेत्रले सरकारसँग नीतिगत तथा प्रशासनिक सहजीकरणको माग गरेको छ ।


    images

    प्राकृतिक विपद्का कारण क्षति पुगेका आयोजनालाई पुनः निर्माण गरी सञ्चालनमा ल्याउन सरकारले आर्थिक सहयोगभन्दा पनि आवश्यक नीतिगत व्यवस्था र प्रशासनिक सहजता प्रदान गर्नुपर्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले बताएका छन् ।

    उनका अनुसार भोटेकोशी प्रलयबाट प्रभावित १३ वटा आयोजनामध्ये ९ वटा निजी क्षेत्रका आयोजना छन् । ती आयोजनाको शतप्रतिशत बीमा गरिएको छ । बीमा भएकाले पुनर्निर्माणका लागि आर्थिक स्रोत जुटाउन सहज हुने भए पनि पुनर्निर्माण प्रक्रियामा देखिन सक्ने नीतिगत, कानुनी तथा प्रशासनिक जटिलता हटाउन सरकारको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।

    इप्पानले प्रभावित आयोजनाको पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराउनुपर्ने सहुलियत र सुविधासहितको विस्तृत प्रतिवेदन तयार गरी सरकारलाई बुझाइसकेको छ । उक्त प्रतिवेदनमा आर्थिक सहायता माग गर्नुभन्दा पनि पुनर्निर्माणका क्रममा आवश्यक पर्ने नीतिगत सहजीकरणका विषयलाई प्राथमिकता दिइएको डाँगीले बताए ।

    ‘हामीले निजी क्षेत्रका आयोजनाको शतप्रतिशत बीमा गरेका छौँ । अब त्यहाँ पुनर्निर्माण गर्नुपर्छ । पुनर्निर्माण गर्दा जे–जस्ता अप्ठ्यारा हुन्छन्, त्यसमा सरकारले आर्थिक सहयोग गर्नुभन्दा पनि नीतिगत सहजीकरण गरिदिनुपर्छ । सरकारले आवश्यक सहजीकरण मात्रै गरिदिए हामी पुनर्निर्माणमा जान्छौँ,’ उनले भने ।

    अनुमति पत्रको अवधि ५० वर्ष बनाउन माग

    प्रभावित आयोजनाको पुनर्निर्माणका लागि इप्पानले अघि सारेको महत्वपूर्ण माग विद्युत् आयोजनाको अनुमति पत्रको अवधि ५० वर्ष कायम गर्नुपर्ने रहेको छ ।

    विद्युत् ऐन, २०४९ अनुसार आयोजनाको अनुमति पत्रको अवधि ५० वर्ष कायम गर्नुपर्ने माग गरिएको डाँगीले बताए । प्राकृतिक विपद्का कारण निर्माण सम्पन्न हुन लागेका तथा व्यावसायिक उत्पादन सुरु गर्ने तयारीमा रहेका आयोजनासमेत पुनः निर्माणको चरणमा जानुपर्ने अवस्था आएकाले अनुमति पत्रको अवधि बढाउनुपर्ने उनको भनाइ छ ।

    ‘हामीले अनुमति पत्रको अवधि विद्युत् ऐन, २०४९ अनुसार ५० वर्ष गरिदिनुपर्छ भनेका छौँ । किनभने निर्माण हुन तयार भएका, अन्तिम चरणमा पुगेका आयोजनासमेत अब पुनर्निर्माणमा जानुपर्ने अवस्था आएको छ,’ उनले भने ।

    लाङटाङ आयोजनाले व्यावसायिक उत्पादन सुरु गर्ने तयारी गरिरहेका बेला विपद्का कारण पुनः निर्माणमा जानुपर्ने अवस्था आएको उनले बताए । निर्माणको अन्तिम चरणमा पुगेका आयोजनाले पुनर्निर्माणका लागि थप समय र स्रोत खर्च गर्नुपर्ने भएकाले अनुमति पत्रको अवधि थप गर्नेलगायत नीतिगत व्यवस्था आवश्यक रहेको उनको भनाइ छ ।

    सरकार पनि इप्पानले अघि सारेका मागप्रति सकारात्मक रहेको डाँगीले बताए । प्रभावित आयोजनाको पुनर्निर्माण आवश्यक रहेको सरकारले समेत महसुस गरेको भन्दै उनले आवश्यक नीतिगत व्यवस्था भए निजी क्षेत्र पुनर्निर्माणमा सक्रियतापूर्वक लाग्ने बताए ।

    भोटेकोशी प्रलयपछि सुरुमा ऊर्जा उत्पादकहरूमा निराशा देखिए पनि अहिले अवस्था क्रमशः बदलिँदै गएको उनको भनाइ छ ।

    ‘सुरु–सुरुमा अलिकति निराशा थियो । हामी आफैँलाई पनि, यस क्षेत्रमा लागेका मान्छेहरूलाई पनि केही निराशा भएको थियो । तर पछाडि बुझ्दै जाँदा अहिले त्यो निराशा छैन । अहिले उत्साहजनक अवस्था छ,’ उनले भने ।

    हजारौँ वर्षमा एकपटक हुन सक्ने प्रकृतिका घटनालाई आधार बनाएर नेपालको जलविद्युत् स्रोतको उपयोग नै नगर्ने निष्कर्षमा पुग्न नहुने डाँगीले बताए ।

    ‘पाँच हजार वर्ष, १० हजार वर्षमा त्यस्ता इन्सिडेन्ट हुन्छन् भन्दैमा हामीले त्यो रिसोर्स प्रयोग नगर्ने भन्ने हुँदैन । त्यसैले हामी उत्साहित नै छौँ,’ उनले भने ।

    निजी क्षेत्रलाई विद्युत् व्यापारको लाइसेन्स छिटो दिन माग

    प्रभावित आयोजनाको पुनर्निर्माणसँगै निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउने प्रक्रिया पनि तीव्र बनाउनुपर्ने इप्पानको माग छ ।

    सरकारले लेटर अफ इन्टेन्ट (एलओआई) दिइसकेका कम्पनीमध्ये आवश्यक योग्यता पूरा गरेका कम्पनीलाई लामो समय कुर्न नलगाई विद्युत् व्यापारको लाइसेन्स उपलब्ध गराउनुपर्ने डाँगीले बताए ।

    उनका अनुसार विद्युत् व्यापार सरकार–सरकार (जीटुजी) माध्यमबाट मात्रै नभई व्यवसायी–व्यवसायी (बीटुबी) माध्यमबाट पनि अघि बढाउन सकिन्छ । सरकारी तहबाट हुने कारोबारको तुलनामा निजी क्षेत्रबीचको व्यापारिक कारोबार सहज, व्यावहारिक र प्रभावकारी हुन सक्ने उनको भनाइ छ ।

    ‘सरकार–सरकार काम गर्नुभन्दा बिजनेस–टु–बिजनेस काम गर्न सजिलो हुन्छ । किनभने एक रुपैयाँ फाइदा भयो भने भारतको कम्पनीले ५० प्रतिशत नाफा खान्छ, नेपालको कम्पनीले ५० प्रतिशत नाफा खान्छ । तर सरकार–सरकारबीच त्यस्तो हुँदैन,’ उनले भने ।

    निजी क्षेत्रबीच विद्युत् व्यापार हुँदा दुवै देशका व्यवसायीले आ–आफ्नो सरकारसँग आवश्यक नीतिगत सहजीकरणका लागि पहल गर्न सक्ने उनले बताए । भारतको निजी क्षेत्रले त्यहाँको सरकारसँग र नेपालको निजी क्षेत्रले नेपाल सरकारसँग व्यापारका लागि आवश्यक वातावरण बनाउन पहल गर्न सक्ने उनको भनाइ छ ।

    सरकारले एलओआई दिएका कम्पनीलाई आवश्यक योग्यता पूरा गरेपछि लाइसेन्स उपलब्ध गराउने प्रक्रिया छिटो अघि बढाउनुपर्ने उनको माग छ । योग्यता पूरा गर्न बाँकी रहेका कम्पनीलाई आवश्यक अवसर दिनुपर्ने तर योग्यता पूरा गरिसकेका कम्पनीलाई दुई वर्षसम्म कुर्न लगाउनु उचित नहुने उनले बताए ।

    ‘एलओआई दिइसकेपछि जो योग्य हुन बाँकी छ, उसलाई योग्य हुने अवसर दिनुपर्छ । तर जो योग्य भएर आउँछ, त्यसलाई दुई वर्षसम्म नकुराई लाइसेन्स दिँदै जानुपर्छ । त्यसो भयो भने निजी क्षेत्रले पनि पीपीए गर्न थाल्छ,’ उनले भने ।

    निजी क्षेत्रले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गर्न थालेमा विद्युत् खरिद–बिक्रीको जिम्मेवारी सरकारी निकायमा मात्रै सीमित नरहने उनको भनाइ छ । निजी कम्पनीहरूबीच पनि पीपीएको अभ्यास विस्तार हुँदा विद्युत् बजारको दायरा फराकिलो हुने र नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणमाथि रहेको पीपीएको भारसमेत बाँड्न सहयोग पुग्ने उनले बताए ।

    तर निजी क्षेत्रबीच पीपीए हुँदैमा मात्रै लगानी सुनिश्चित नहुने उनले स्पष्ट पारे । निजी कम्पनीबीच भएको विद्युत् खरिद–बिक्री सम्झौतालाई बैंक तथा वित्तीय संस्थाले विश्वसनीय आधारका रूपमा स्वीकार गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

    बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रबीच भएको पीपीएलाई विश्वास गर्न नसके वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) हुन नसक्ने र त्यसले आयोजनामा लगानी जुटाउन कठिनाइ हुने उनले बताए ।

    ‘निजी क्षेत्रमा पीपीए गरेपछि त्यसको पैसा तिर्ने ग्यारेन्टी पनि हुनुपर्छ । भोलि फाइनान्सियल क्लोजर त हुनुपर्‍यो । निजी क्षेत्रबीच पीपीए गर्‍यो, तर त्यो पीपीएलाई बैंकले पत्याएन भने लगानी त हुँदैन । त्यसैले त्यो खालको वातावरण पनि बनाउनुपर्छ,’ उनले भने ।

    डाँगीका अनुसार अहिले विद्युत् खरिद–बिक्री सम्झौताको मोडालिटीबारे पनि विभिन्न अभ्यास तथा छलफल भइरहेका छन् । विद्युत् उत्पादन बढ्दै गएको अवस्थामा उत्पादित विद्युत्को बजार व्यवस्थापन, खरिद–बिक्रीको सुनिश्चितता र निजी क्षेत्रको सहभागिता बढाउनु महत्वपूर्ण रहेको उनको भनाइ छ ।

    सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारमा पर्याप्त अवसर दिने, योग्य कम्पनीलाई समयमै लाइसेन्स उपलब्ध गराउने र निजी क्षेत्रबीच हुने पीपीएलाई विश्वसनीय बनाउने वातावरण तयार गर्न सके नेपालको विद्युत् बजार थप विस्तार हुने इप्पानको विश्वास छ ।

    भोटेकोशी प्रलयबाट प्रभावित आयोजनाको पुनर्निर्माणदेखि अन्तरदेशीय विद्युत् व्यापारसम्मका विषयमा सरकारले आवश्यक नीतिगत सहजीकरण गर्नुपर्नेमा इप्पानले जोड दिएको छ । निजी क्षेत्र पुनर्निर्माण र लगानीका लागि तयार रहेको भन्दै अध्यक्ष डाँगीले सरकारले आवश्यक नीतिगत वातावरण बनाइदिनुपर्ने बताएका छन् ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार