काठमाडौं, मंसिर ९ । सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई पुनरबहाली गर्न अस्वीकार गरेको छ। बुधबार दुवै पक्षसँग अन्तरिम आदेशबारे छलफल गरेपछि न्यायाधीश नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।
निवेदकले मागेकाे न्यायिक उपचार र उठाएका अन्तरिम आदेशको मागसँग अन्तरनिहित कानुनी प्रश्नहरुको रिट निवेदनको अन्तिम सुनुवाइ हुँदा निरुपण र सम्बोधन हुने प्रकृतिको देखिएको भन्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।
अब अन्तिम फैसलामा मात्रै कार्कीलाई हटाउने निर्णय बदर हुने वा त्यसलाई सदर नै गर्ने भन्ने टुंगो लाग्नेछ।
मनोजकुमार केसी कात्तिक १८ गते नै प्रहरी महानिरीक्षकमा बढुवा/नियुक्त भई कार्यभार सम्हालिसकेको देखिएको आदेशमा उल्लेख छ। शान्ति सुरक्षा कायम गर्ने प्रहरी संगठनको नेतृत्वसँग सम्बन्धित सार्वजनिक महत्वको संवेदनशील विषय भएकाले छिटो निरुपण गर्नु पर्ने इजलासको ठहर छ।
‘प्रस्तुत रिट निवेदन राज्यको शान्ति सुरक्षा र प्रहरी संगठनको नेतृत्व र नियन्त्रण प्रणालीसँग सम्बन्धीत भई रिट निवेदनमा उठाइएका विषयवस्तुको महत्व, गम्भीरता र संवेदनशीलतातर्फ दृष्टि गर्दा छिटो सुनुवाइ र निर्णय हुन वाञ्छनीय देखिएबाट प्रत्येर्थीहरुबाट लिखित जवाफ परेपछि वा पर्ने अवधि व्यतित भएपछि ७ दिनभित्रै पेसी चढाई पेसी हटाउन नपाउने पूर्वसूचना दुवै पक्षलाई दिई नियमानुसार पेस गर्नू’, आदेशमा भनिएको छ।
आईजीपीमा मनोज केसीलाई नियुक्ति गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश नभएसँगै मुद्दाको अन्तिम टुंगो नलागेसम्म केसीलाई काम गर्न खुला भएको छ।
सरकारले कात्तिक १८ गते कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउने निर्णय गर्दै केसीलाई आईजीपी नियुक्त गरेको थियो। त्यसैदिन दर्ज्यानी चिह्न लगाएर केसीले काम थाल्दा कार्की भने आफूलाई गैरकानुनी रुपमा हटाएको दाबी गर्दै सर्वोच्च पुगेका थिए।



