काठमाडौं, मंसिर ११ । मलेसिया जाने नेपाली कामदारबाट गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाएको प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग्दै अर्याललाई अदालत उपस्थित गराउन लागेको हो ।
भारतको कोलकाताबाट पक्राउ परेका अर्याललाई बिहीबार काठमाडौं ल्याइएको थियो । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै सीआईबीको कार्यालय पुर्याइएको थियो । स्वास्थ्य परीक्षण र आवश्यक कागजात तयार गर्न समय अभाव भएपछि बिहीबार अदालत उपस्थित गराउन नसकिएको प्रहरीले जनाएको छ ।
मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाउने कार्यमा संलग्न रहेको आरोप अर्यालमाथि छ । उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव हुँदा उक्त प्रकरणमा भूमिका खेलेको अनुसन्धानकर्ताहरूको दाबी छ ।
अनुसन्धानका क्रममा सम्झौताविपरीत सिण्डिकेट खडा गरी कामदारबाट रकम उठाइएको र उक्त रकम अमेरिकी डलर तथा पाउन्डमा रूपान्तरण गरेर मलेसिया पठाइएको खुलेको छ । अहिलेसम्मको अनुसन्धानबाट १७ पटक गरी १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ अवैध रूपमा मलेसिया पुर्याइएको देखिएको छ ।
यसअघि यही प्रकरणमा तत्कालीन श्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन् । उनीहरूलाई जिल्ला अदालत काठमाडौंले थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
अर्याललाई पनि उनीहरूसँगै अनुसन्धानको म्याद मिलान हुने गरी हिरासतमा राख्न अनुमति माग्ने सीआईबीको तयारी छ ।
प्रहरीले यस प्रकरणमा पक्राउ परेका व्यक्तिहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।



