काठमाडौं, मंसिर ११ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको समर्थनमा उनको पार्टी आवामी लिगले आज र भोलि देशव्यापी बन्द आह्वान गरेको छ । पार्टीले हसिनाविरुद्ध सुनाइएको मृत्युदण्डको फैसला खारेज गर्नुपर्ने र आवामी लिगमाथि लगाइएको प्रतिबन्ध हटाउनुपर्नेलगायतका माग राख्दै बन्दको घोषणा गरेको हो ।
आवामी लिगले नोभेम्बर २० देखि ३० सम्म विभिन्न चरणका विरोध कार्यक्रम घोषणा गरेको छ । यसैक्रममा नोभेम्बर २७ र २८ मा देशव्यापी बन्द आह्वान गरिएको पार्टीले जनाएको छ ।
पार्टीले शेख हसिनाविरुद्ध सुनाइएको मृत्युदण्डको फैसला खारेज गर्नुपर्ने, राजनीतिक बन्दीहरूलाई रिहा गर्नुपर्ने तथा आवामी लिग र त्यसका भ्रातृ संगठनमाथि लगाइएको प्रतिबन्ध हटाउनुपर्ने माग अघि सारेको छ ।
त्यस्तै, अत्यावश्यक वस्तुको मूल्य नियन्त्रण, श्रमिकको अधिकार सुनिश्चितता, अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र देशमा शान्ति सुरक्षा कायम गर्नुपर्ने माग पनि पार्टीले राखेको छ ।
आवामी लिगले नोभेम्बर २९ र ३० मा थप विरोध कार्यक्रम गर्ने घोषणा गरेको छ । सन् २०२४ अगस्टमा विद्यार्थी आन्दोलनपछि सत्ताच्युत भएकी हसिना हाल भारतमा छिन् । उनीविरुद्ध बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले मानवताविरुद्धको अपराधमा मृत्युदण्डको फैसला सुनाएको थियो । हसिनाको सत्ताच्युतिपछि बंगलादेशमा राजनीतिक अस्थिरता र तनाव जारी छ ।



