बिहीबार , वैशाख २० गते २०८१
Logo
बिहीबार , वैशाख २० गते २०८१

के हो अहिलेको चुनाव ?

के हो अहिलेको चुनाव ?

साझा पोष्ट
मंगलबार, भदौ १४ २०७९
  • images
    के हो अहिलेको चुनाव ?
    images
    लोकतन्त्रलाई एउटा जीवन पद्धतिका रूपमा अपनाउनुपर्छ, लोकतन्त्र भनेको एउटा सामाजिक लोकतान्त्रिक पद्धति हो । राज्यको जीवन पद्धति हो । राज्य सञ्चालनको विधि हो । लोकतन्त्र तर्क, तथ्य, सत्य, सही र आवश्यकता अनुसार संविधान र कानून अनुसार चल्ने विधिको शासन, कानूनको शासन हुने राजनीतिक प्रणाली हो । त्यसलाई राज्यको, समाजको, सबैको जीवन पद्धतिका रूपमा, उसको आचरणको रूपमा कसरी लाने ? यो लोकतन्त्रको प्रश्न हो । राज्यको संरचना र अरु पक्षहरू, त्यसको परिचालन कुन अर्थ, मर्म र भाव अनुसार गरिन्छ ? त्यो धेरै महत्वपूर्ण कुरा हो । त्यो लोकतान्त्रिक विधि, पद्धति र तरिकाले सञ्चालित हुनुपर्दछ । राज्यले गर्ने कामहरू, प्रशासनको परिचालन, सञ्चालन, राज्यका अङ्गहरू, राज्यका निकायहरू, राज्यका संयन्त्र, संरचनाहरू र राज्यका विभिन्न पक्षहरूले काम कसरी गर्छन् ? यसैको भेदले मुख्य रूपमा लोकतान्त्रिक प्रणाली र अधिनायकवादी प्रणालीलाई छुट्याउँछ । जनताप्रति काम गर्ने, जनताप्रति उत्तरदायी ढङ्गले चल्ने कुरालाई लोकतान्त्रिक प्रणाली भनिन्छ । यही कुरा बिगार्न खोजिएको छ र त्यसलाई सच्याउनु पर्नेछ । व्यक्ति, राज्य, समाजसम्म नेपाली समाजका प्रत्येक क्षेत्रलाई लोकतान्त्रिक विधि, प्रक्रिया अन्तर्गत यस प्रणालीको, यस प्रणालीलाई व्याख्या गर्ने संविधानको र त्यसलाई कार्यान्वयन गर्ने क्षेत्र विशेषका कानूनहरूको कसरी प्रभावकारी निर्माण र कार्यान्वयन गर्ने ? त्यसको परिमार्जन कसरी गर्दै जाने ? यी विषयहरू हुन् । जनताको जीवनस्तरमा साच्चै परिवर्तन कसरी ल्याउने ? शिक्षाका क्षेत्रमा हामी के गर्छौं ? स्वास्थ्यका क्षेत्रमा हामी के गर्छौं ? बेरोजगारीको ठूलो समस्या छ । लाखौं युवा विदेश पलायन भइराखेका छन् । यस स्थितिलाई परिमार्जन गरेर देशभित्रै रोजगारीका अवसरहरू सिर्जना गर्ने, उद्यमशीलताको विकास गर्ने धेरै महत्वपूर्ण काम गर्नुपर्ने छ । उद्यमशील चिन्तन, उद्यमशील प्रवृत्ति, उद्यमशील व्यवहार, उद्यमशील आचरण यी कुराहरू हरेक वयस्क र सचेत नागरिकले गर्ने प्रयास गर्नुपर्छ । जसबाट उद्यमशीलतातर्फ देश जान्छ, उद्यमशीलता बढ्छ, प्रविधिको विकास हुन्छ, प्रविधिको प्रयोग हुन्छ । उत्पादन र उत्पादकत्व वृद्धि हुन्छ । आत्मनिर्भरता बढ्छ । परनिर्भरता हट्छ । आयात प्रतिस्थापन हुन्छ, निर्यात वृद्धि हुन्छ । वैदेशिक मुद्राको संचिति बढ्छ । राष्ट्रिय बचत वृद्धि हुन्छ । नागरिकको बचतको स्थितिमा उल्लेख्य सुधार आउँछ । यी कामका लागि नेकपा (एमाले) ले नीति निर्माण गर्नुपर्छ, व्यवहारमा कार्यान्वयन गर्नुपर्छ । हामी आर्थिक, राजनीतिक, सामाजिक क्षेत्रमा अब कस्ता नीतिका साथ अगाडि बढ्दै छौं त ? हाम्रो घोषणापत्रले ती कुरारू बोल्नेछ । आगामी दिनमा घोषणापत्रलाई कार्यान्वयन गर्न हामीसँग सरकार चाहिन्छ । सरकार बिना हामी कार्यान्वयन गर्न सक्दैनौं । अहिले पनि हामीले प्रस्तुत गरेका राम्रा नीतिहरू छन्, तर ती दराजमा थन्किएका छन् र राज्यले भ्रष्ट नीतिहरू, उल्टा नीतिहरू, विकृत नीतिहरू बोकेर, अङ्गालेर ओरालो बाटोमा लागिरहेको छ । यो सरकारको मात्रै अधोगतिको प्रश्न होइन । सरकार मात्रै अधोगतिमा गइदिएको भए केही फरक पर्ने थिएन । अर्को सरकार बन्थ्यो । सिङ्गो राज्य संयन्त्र नै अधोगतितर्फ जाँदैछ । राज्य नीति नै अधोगतितर्फ जाँदैछ । बेथितितर्फ, नीतिहीनतातर्फ राज्य जाँदैछ । प्रश्न सरकारको मात्रै होइन, राज्यका सम्पूर्ण अङ्ग, अवयवहरूलाई क्षतविच्छेत, निकम्मा, पङ्गु बनाउन खोजिँदैछ । यसबाट जोगाउनु छ । सिंगो देशलाई, देशको राजनीतिलाई, देशको अर्थतन्त्रलाई ध्वस्त पार्न खोजिँदैछ । यसलाई कसरी हामीले रोक्ने ? देशलाई अधोगतितर्फ जानबाट कसरी रोक्ने र कसरी फेरि सकारात्मक बाटोमा फर्काएर उँभो लगाउने ? यसको ग्राफलाई हामीले कसरी माथि चढाउने ? यो त सरकार नभई हुँदैन । त्यसकारण यसपल्ट हामीले भन्ने गरेका छौं–नेकपा एमालेले चुनाव जित्नैपर्छ, सरकार बनाउनैपर्छ । एमालेले जित्नुपर्छ, देशको रक्षा र सम्मानको अभिवृद्धिका लागि, हितको अभिवृद्धिका लागि, राष्ट्रियताको सम्वद्र्धनका लागि, स्वाधीनताको सही ढङ्गले प्रयोग गर्नका लागि जित्नुपर्छ । देशले जित्नका लागि जित्नुपर्छ एमालेले । हामी राजनीति भनेर जे बुझिराखेका छौं, अहिलेको सरकारले त्यसरी बुझ्दैन । राजनीति भनेको जसरी तसरी सरकारमा पुग्ने र सरकारको, सत्ताको दुरूपयोग गरेर हाटहुट–लाटलुट गर्नुपर्छ भन्ने सरकारको नीति र सरकारको बुझाई छ । अनि त्यो हाटहुट–लाटलुटको कमाईको दुरूपयोग गरेर चुनावमा लाटलुट गर्ने, लाटलुटे सरकार फेरि बनाउने । यही चक्र वर्तमान गठबन्धनले बुझेको छ । यसबाट देशलाई मुक्त गर्न, लोकतन्त्रको रक्षा गर्न हामीलाई सरकार गठन गर्न, बहुमत ल्याउनुपरेको छ । अहिले सरकार स–साना कुरामा खुद्रा राजनीति गरेको छ, छलपूर्ण राजनीति गरेको छ । हामीले अगाडि बढाइसकेका कुरालाई अगाडि बढ्न नदिएर रोके । जन्मसिद्धका छोराछोरीले वंशजका आधारमा नागरिकता प्राप्त गर्न सक्छन्/पाउनुपर्छ । त्यस कुराको एमालेले विरोध गरेको छ भनेर भ्रम फिजाउन खोजिराखेका छन् । हामीले चार वर्ष अगाडि हाम्रो सरकार बनेदेखि यही कुरा अगाडि बढाएका हौंं । जन्मसिद्ध नागरिकका छोराछोरीले, जन्मसिद्ध नागरिक त भइसके त, नागरिक भइसकेका छोराछोरीले नागरिकताको प्रमाणपत्र पाउनुपर्छ, दुःख पाउनु हुँदैन । हामी सरकारमा हुँदा आन्तरिक रूपमा असहयोग गर्ने माओवादी केन्द्रका नेता र अहिले हामी सरकारबाट हटिसकेपछि यति बेलासम्म राजनीतिक खेल खेलेर केही पनि नगरेर अहिले समय छैन भन्ने नाममा समस्याको समाधान नहुनेगरी, अङ्गिकृत नागरिकताको समेत समस्या समाधान नहुनेगरी नागरिकता विधेयक बलजफ्ती पास गर्ने ! संसद जस्तो गरिमामय ठाउँमा छलफलै नगरी पास गर्ने ? संसदका समिति के नाक कानमा लगाउने कुण्डली, झुम्के बुलाकी हुन् ? संसदीय समितिहरू छलफलका लागि बनेका होइनन् ? कतिपय यस्ता राष्ट्रिय महत्वका विषयहरू जनस्तरमा पनि छलफल हुनुपर्छ । संसदीय समितिहरूले जनस्तरका रायहरू माग्नु पर्दछ । यहाँ त छलफल नै हुन नदिने ! सम्माननीय राष्ट्रपतिज्यूले संसदमा यी–यी विषयमा फेरि एकपटक विचार गरोस् भनेर पठाउँदा बाहिरैबाट अनधिकृत, संविधानले नचिनेका फाल्तु मान्छेहरूले संविधान बमोजिम संसदमा आउन नदिएर, संसदलाई पङ्गु बनाउन खोजे, बाहिरै निर्णय गरेर जस्ताको तस्तै फिर्ता पठाइदिने भन्ने अहङ्कार देखाए, दम्भ, अहङ्कार, घमण्ड यसलाई भनिन्छ । यो अत्यन्तै अशोभनीय दम्भी काम गरेका छन् । भ्रम फिजाउन खोजिराखेको छन् तर म भन्न चाहन्छु–भ्रममा पर्नु पर्ने कुनै आवश्यकता पनि छैन । नेकपा (एमाले) जनताका समस्या समाधान गर्न चाहन्छ, जनताका समस्या समाधान गरी आएको पार्टी हो र नागरिकताको समस्या पनि समाधान गर्न चाहन्छ । हरेक समस्या समाधान गर्न नेकपा (एमाले) चाहन्छ । अनि एमालेका विरुद्ध अहिले पनि भ्रम फिजाउन खोज्ने ? पहिले पहिले ६० वर्षभन्दा माथिकालाई गोली हानेर मार्छ भनेर गाउँमा कुदेको जस्तै अहिले फेरि अर्को खालको भ्रम फिजाउन खोज्ने ? सरकारको काम हो– जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता देउ । आमा वा बाबुका नाममा नागरिकता छ भने आमा वा बाबुका नाममा नागरिकता देउ, किन अल्झाएर राख्ने ? संसदीय प्रक्रिया भनेको त संसदीय प्रक्रिया हुन्छ नि । अनि संसदीय प्रक्रिया मिच्नका लागि एमाले बाधक हो भनेर बहाना बनाउने ? यस्ता कपटपूर्ण दुषप्रचार गठबन्धनले गर्छ भने हामीले त्यसको जोडदार खण्डन गर्नुपर्छ । हामी नागरिकका समस्याको स्थायी समाधान होस् भन्ने चाहन्छौं । जनताको अधिकारको सुनिश्चितता र सुरक्षा होस् भन्ने चाहन्छौं । जनताले दुःख झन्झट नपाउन्, हामी त्यो चाहन्छौं र संसदीय प्रक्रिया पनि पूरा गरिनुपर्छ । संसदीय मर्यादा, संसदको भूमिका, बिना लोकतान्त्रिक प्रणाली कसैले खल्तीबाट केही निकालेर दिन्छु भनेर भ्रम फिजायो भने त्यो दिगो हुँदैन, त्यो झुटो हुन्छ । त्यसकारण हामी यस्तो भ्रमपूर्ण कुरा फिजाउने तत्वहरूबाट सचेत रहनुपर्छ र त्यस्ता भ्रमहरूलाई हामीले धुलो पारिदिनुपर्छ । मैले खाली एउटा मात्रै चर्चा गर्न खोजेको हुँ । आज देश यस्तो विन्दुमा पुगेको छ, यो प्रश्न आज विचारको भिन्नताको प्रश्न मात्रै होइन । यो प्रश्न राष्ट्र, राष्ट्रिय हितको, राष्ट्र निर्माणको, यो पक्षको विचार र त्यो पक्षको विचार भन्दा पनि राष्ट्रिय विचारको कुरा हो । यो निर्वाचन व्यापक राष्ट्रिय हितको विचार कि दलीय, व्यक्तिगत स्वार्थ गुटगतको विचार ? नेकपा (एमाले) व्यापक राष्ट्रिय हितको विचारको, समग्र विचारको प्रतिनिधित्व गर्दछ । समग्र राष्ट्रिय हितको विचार अथवा राष्ट्रिय विचार अथवा एमालेले लिने विचार भनेको नेपाली विचार हो । नेपालको प्रशासन परिचालन, सरकार सञ्चालन अथवा विदेश नीति सञ्चालन अथवा अर्थ नीति सञ्चालन, कृषि, उद्योग, व्यापार, पर्यटन अथवा सेवाका क्षेत्रहरूमा हामी के गर्छौं ? यी सबैको सही विचारहरूको समष्टि चाहिँ एमालेले लिएका विचारहरूको समष्टि हुन् । एमालेका विचार भन्नाले राष्ट्रिय विचार हुन्, राष्ट्रिय हितका विचार हुन् । नेपालको, नेपाली जनताको साझा आकाङ्क्षाको विचार हुन् । आकाङ्क्षाको प्रतिनिधित्व गर्ने प्रतिबिम्व विचार हुन् । त्यो विचार एमालेको छ । त्यसकारण यहाँ तथाकथित विचारको कुरा, विचारको वा दलीय संलग्नताको जस्तो कुराको सीमाभित्र अहिलेको चुनाव रहन सक्ने अवस्था छैन । त्यो सीमाभित्र रह्यो भने संसदमा अहिले टाउको गनेको जस्तै निरर्थक विपरीत परिणाम निस्कने खालका, देशहीत विपरीतका नतिजाहरू आउँछन् । आज राष्ट्रियता सङ्कटमा पार्न खोजिएको छ । लोकतन्त्रलाई सङ्कटमा पार्न खोजिएको छ । सुशासन र विकासको अभियानलाई अवरोध गरिएको छ । उल्टोतिर फर्काउन खोजिएको छ,फर्काइँदैछ । यसकारण एमालेको सरकार चाहियो । यसकारण आगामी निर्वाचनमा हामीले बहुमत ल्याउनु पर्छ । यसर्थ म कमरेडहरूलाई भन्न चाहन्छु,  निर्वाचनमा कहीँ कतै कमी नरहोस् । निर्वाचनको तयारी, निर्वाचनको व्यवस्थापन, निर्वाचनको प्रचार कार्य, निर्वाचनसम्बन्धी अन्य चाँजोपाँजोहरू केही कुरामा कतै कमी नहोस् भन्नका लागि हाम्रो परिचालन कमिटीले ध्यान दिनुपर्छ ।फेरि यहाँ दोर्याएर कमरेडहरूको ध्यानाकर्षण गर्न चाहन्छु,–सम्बन्धित तहका कमिटीहरूसँग जनवर्गीय, पेशागत कमिटीहरूसँग विवाद हुने काम हामीले गर्नु हुँदैन । त्यहाँ अन्तरविरोध सिर्जना गर्ने काम गर्नु हुँदैन । हामीले सहयोगी भूमिका खेल्नुपर्छ । निर्वाचन प्रयोजनका लागि जनसंगठनका युवा प्रतिनिधि, जुनसुकै जनसंगठन पनि र मूलरूपमा युवापंक्ति आफूलाई युवा ठान्ने ६० वर्षसम्मका मान्छे पनि बस्न सक्छन् तर मूलतः युवा प्रतिनिधिहरू यसमा स्वाभाविक रूपमा युवासंघ अग्रसर हुनै पर्यो, युवा संघ अगाडि बढ्नै पर्यो । युथ फोर्स अब मैदानमा देखिनुपर्छ, युथ फोर्स हरेक पालिकामा देखिनु पर्छ, युथ फोर्स हरेक वडामा देखिनुपर्छ र मूल कमिटीमा युथ फोर्स देखिनुपर्छ । युथ फोर्स साइन बोर्डमा देखिएर हुँदैन । हामी युथ फोर्सको रूपमा बेठीक नगर्ने, बेठीक गर्न नदिने, जनताको मतको रक्षा गर्ने, जनताका मतको हरण हुन नदिने, जनताका मत लुटिन नदिने, जनताको मताधिकारको सार्वभौम रक्षा गर्ने । नेकपा (एमाले) वात बहादुर पार्टी हुने होइन, वात बहादुर पार्टी होइन, काम बहादुर पार्टी हुनुपर्छ । कुरा गर्ने बेलामा ठूलाठूला गर्ने, काम गर्ने बेलामा छैन । त्यस्तोलाई बात बहादुर भन्छन् । कुरा बहादुर, बात बहादुर पार्टी होइन । यो पार्टी कर्म बहादुर, काम बहादुर हो । हाम्रा संगठनहरू त्यस ढङ्गले, हाम्रा सम्पूर्ण युवा पङ्क्ति, युवा संघ, खेलाडी अरू संगठनहरू जुन हामीले यहाँ भन्यौं, ती सबै संगठनहरू । युवा संघ, खेलकुद महासंघ, जिफन्ट, अनेमसंघ, अनेरास्ववियू, राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संघ आदिलाई निर्वाचन परिचालन कमिटीको सचिवालयमा किन राखिएको छ भन्दा यी संगठनहरू त्यस ढङ्गले तल बुथमा यिनका प्रतिनिधिहरूले काम गर्छन्, यहाँ केन्द्रीय कार्यालयमा दूरबिन हातमा हुनुपर्छ । कहाँनिर के भइराखेको छ, हेर्न पर्यो । प्रशासनिक गतिविधि, प्रहरीका गतिविधि सबैको लेखाजोखा राख्नुपर्छ, हेक्का राख्नुपर्छ कहाँ के भइराखेको छ । त्यसको तत्काल हामीले सही उपचार पनि खोज्नुपर्छ । -एमाले अध्यक्ष ओलीले २०७९ भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकलाई गरेको सम्बोधन

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार