शुक्रबार, वैशाख २१ गते २०८१
Logo
शुक्रबार, वैशाख २१ गते २०८१

कतारका राजा आज नेपाल भ्रमणमा आउँदै, यी विषयमा हुनेछ सम्झौता

कतारका राजा आज नेपाल भ्रमणमा आउँदै, यी विषयमा हुनेछ सम्झौता

साझा पोष्ट
मंगलबार, वैशाख ११ २०८१
  • images
    कतारका राजा आज नेपाल भ्रमणमा आउँदै, यी विषयमा हुनेछ सम्झौता
    images

    काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलको निम्तोमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले  नेपालको दुईदिने राजकीय भ्रमणका लागि काठमाडौं आउँदैछन् ।  


    images
    images

    दुई दिने भ्रमणका उनी मंगलवार बेलुकी काठमाडौं आईपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतारी राजालाई राष्ट्रपति पौडेलले स्वाग गर्नेछन् ।   उनको सवारीको दौरान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुनेछ ।कतारी अमिरको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिनेछ । मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण हुन लागेको हो ।

    भ्रमणका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । सरकारले कतारसँग हुने द्विपक्षीय वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् । कतारी अमिरले मङ्गलबार नै राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले उनको सम्मानमा साँझ राजकीय भोजको आयोजना गर्नेछन् । त्यस्तै कतारका अमिर शेख थानीले यही वैशाख १२ गते प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्नेछन्। वार्तापछि दुवै नेताहरू द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनेछन् ।

    मन्त्रिपरिषद्को बैठकले नेपाल र कतारबीच हुने विभिन्न विषयका समझदारीपत्रहरु स्वीकृत गर्ने र समकक्षी मिलाई हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ । भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । त्यस्तै दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

     भ्रमणका क्रममा नेपालको राष्ट्रिय समाचार समिति (रासस) र कतारको ‘कतार न्यूज एजेन्सी’बीच समाचार आदाप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।कतारमा कार्यरत नेपाली कामदारको हकहितका लागि भ्रमणका क्रममा छलफल हुने तय भएपनि नयाँ सम्झौता गर्ने सम्बन्धमा भने अझै टुङ्गो लागिसकेको छैन् ।

    श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले श्रमसम्बन्धी विद्यमान सम्झौतामा परिमार्जन तथा संशोधनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ । मन्त्रालयले नयाँ सम्झौता गर्ने विषयका सम्बन्धमा विवरणसहित सन्देश पठाएको तर हालसम्म कतारबाट औपचारिक प्रतिक्रियासहित जानकारी आइनसकेको जनाएको छ । कतारमा हाल झण्डै चार लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत छन् । कतारका अमिर थानी वैशाख १२ गते दिउँसो काठमाडौँबाट प्रस्थान गर्नेछन् । -रासस

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार