काठमाडौं । काठमाडौँ : विराटनगर–१८ मा रहेको महाभारतकालीन विराट राजाको पाँच हजार वर्ष पुरानो दरबार क्षेत्र संरक्षणको पर्खाइमा छ।
तीनै तहका सरकारले खोज, संरक्षण, संवर्धन र विकासमा चासो नदिँदा स्थानीय बासिन्दा अग्रसर बनेका छन्।विराटनगरको नाम र सम्मानसँग जोडिएको यो क्षेत्रमा राम्ररी उत्खनन गरी बहुमूल्य सामग्रीको अन्तर्राष्ट्रियस्तरको संग्रहालय बनाइसक्नुपर्ने भए पनि त्यसो हुन नसकेको स्थानीयको गुनासो छ।
द्रौपदीसहित पाँच पाण्डव एक वर्षसम्म विराट राजाको दरबारमा गुप्तवास बसेको विश्वास गरिन्छ। विराटनगरको मुख्य बजारबाट करिब १० किलोमिटर दक्षिणमा रहेको यो क्षेत्रमा अलग–अलग समयमा उत्खनन हुँदा थरीथरीका पुरातात्त्विक सामग्री फेला परेका छन्।
उत्खननका वेला फेला परेका खेतीपाती गर्दा, घर बनाउँदा, शिकार खेल्दा, घरायसी काम गर्दाका वस्तु, ढुंगाको पिर्का र शिवलिंग आकारका वस्तु स्थानीय संरक्षणकर्ता कमलकिशोर यादवले संरक्षण गरेर राखेका छन्। जमिनको गर्भगृहबाट सतहमा निस्केर भेडियारी बस्ती र सिंगो विराटनगर शहरकै कथा सुनाउने महत्त्वपूर्ण पुरातात्त्विक सामग्री यादवको संग्रहालयमा सुरक्षित छन्।
यो क्षेत्रको संरक्षण, संवर्धन र जगेर्नामा सम्बन्धित निकायले चासो नदिँदा स्थानीयले संरक्षण–प्रवर्धनको जिम्मेवारीमा काँध थापेका छन। २८ वर्षअघि समिति बनाएर संस्था दर्ता गरेका संरक्षक कमलकिशोर यादव र समितिको पदाधिकारीका रूपमा रहेका केही स्थानीयले यसको रेखदेख गरिरहेका छन्। प्राचीन सम्पदा एवं जमिनभित्रका बहुमूल्य वस्तु नासिने, मासिने र चोरी हुने जोखिम टार्ने गरी उनीहरू लागिपरेका छन्।
विराट राजाको दरबार बिउँताउने गरी तीनै तहका सरकार लाग्नुपर्ने भए पनि केन्द्रीय सरकार र प्रदेश सरकारबाट अपेक्षाकृत काम नभएको विराटनगर–१८ का वडाध्यक्ष जितेन साह बताउँछन्।
विराटनगर महानगरले भने यो क्षेत्रमा विराट राजाको दरबार बनाउने योजनालाई पूर्णता दिन विगत लामो समयदेखि कसरत गर्दै आएको जनाएको छ। दरबार परिसरमा रहेको धरोहर पोखरी झन्डै १ करोड लागतमा निर्माण भइसकेको छ। विराट राजाको दरबारमा ऐतिहासिकता र आधुनिकताको संगम हुने गरी काम गरिरहेको महानगर प्रमुख नागेश कोइराला बताउँछन्।
ऐतिहासिक र पुरातात्त्विक सम्पदा मासिनु भनेको जनताको स्मृति मासिनु हो। आउने पुस्ताले सुन्ने र सुनाउने कथा मासिनु हो। यसैले यहाँ जमिनमुनि पुरिएर रहेका मन्दिर र दरबार उत्खनन गरी जीर्णोद्धार बनाएर जीवित उदाहरण बनाएमा समृद्ध मुलुकको अभियानलाई सार्थकता तुल्याउन सकिन्छ।
यो क्षेत्रको विकासका लागि राज्यमात्र नभएर गैरसरकारी संस्था, धार्मिक संघसंस्थाको पनि उत्तिकै भूमिका हुनसक्छ।-न्युज एजेन्सी नेपाल




