काठमाडौं,कात्तिक ३ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउन सफल हुँदा खुसी लागेको बताएका छन् ।
मंगलबार साँझ स्वदेश फर्किएका उनले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालको एकदिवसीय मान्यता जोगिएको बताएका हुन् । ‘हामी एउटा अपेक्षासहित गएका थियौं कि ओडीआई मान्यता जोगाउँछौं भन्ने। त्योअनुसार मान्यता जोगाएका छौं। छैटौँ स्थान नै हाम्रो लागि माथिसम्म पुग्ने ठाउँ थियो, त्यहाँसम्म पुगेका छौं’ सन्दीपले भने।
आईसीसीको आधिकारिक धारणा आउन बाँकी रहेपनि सन्दीपको भनाइअनुसार नेपालको ओडीआई मान्यता जोगिएको छ ।
उनले पछिल्लो तीन–चार महिनादेखि बनेको क्रिकेटको वातावरणमा टोलीले समग्रमा राम्रो गरेको बताए। अहिलेका लागि आगामी चार वर्षसम्म ओडीआई मान्यता जोगाउनु मुख्य चुनौती रहेको उल्लेख गर्दै उनले आगामी लिग २ चक्रमा अझ राम्रो गर्ने बताए।
‘हामीले योभन्दा राम्रो गर्न सक्थ्यौं। तर अहिलेका लागि ओडीआई मान्यता जोगिएको छ र त्यही महत्वपूर्ण हो। आगामी लिग २ चक्रमा अझै राम्रो गर्नेछौं’ उनले भने।
सन्दीपले ओमान र क्यानडासँगको शृङ्खलामा ब्याटिङका लागि राम्रो विकेट रहेको र बलरले योजनाअनुसार प्रदर्शन गरेको बताए।
नेपालले उक्त शृङ्खलाका चारमध्ये तीन खेल जितेको थियो। ओमानलाई दुवै खेलमा हराएको नेपालले क्यानडासँग एक जित र एक हार बेहोरेको थियो।
शृङ्खलापछि नेपालले लिग २ का सबै ३६ खेल पूरा गर्दै ३० अंकसहित छैटौं स्थानमा रह्यो। छैटौं स्थान नेपालका लागि ओडीआई मान्यता जोगाउन महत्वपूर्ण थियो।




