काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाडागाउँ टोलमा विस्फोट हुँदा दुई बालबालिकाको ज्यान गएको छ । विस्फोटमा ११ वर्षीय दिप्सन साँवा र प्रिन्सा साँवाको ज्यान गएको थियो ।
माओवादी कार्यकर्ता आइतराज केरुङ (आईबी) को घरमा विष्फोट हुँदा घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन, स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्सा घाइते भएका थिए ।
घाइते भएलगत्तै पाँचथर अस्पताल पुर्याइए पनि थप उपचारका लागि उनीहरूलाई झापा रेफर गरिएको थियो । उपचारका लागि लैजाने क्रममा प्रिन्साको राति १० बजे इलाम पुर्याउँदा बाटोमै र दिप्सनको राती १ वजे बी एन्ड सी अस्पताल झापा पुर्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घाइते बालक पवनको भने पाँचथर अस्पतालमै उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद गौतमले जानकारी दिए ।
उनीहरू घरेलु ग्रिनेड पड्केर घाइते भएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी गौतमले बताए । घटनास्थलमा अर्को एउटा ग्रिनेड पनि भेटिएको छ ।
ग्रिनेड कहिले र कसले राख्यो भन्ने नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विस्फोट भएको घरका धनी आइतराज माओवादी कार्यकर्ता हुन् । त्यो घरमा अहिले ज्ञानबहादुर राईको परिवार बस्दै आएको छ । बम द्वन्दकालमा लुकाइएको हुन सक्ने आशंका गरिएको छ ।




