काठमाडौं । अखिल (क्रान्तिकारी) का उपाध्यक्ष जीपी मैनालीले इञ्जिनियरिङ क्षेत्रमा युवाहरूलाई निरुत्साहित गर्ने डरलाग्दो सामन्तवाद रहेको आरोप लगाएका छन्।
थापाथली इञ्जिनियरिङ क्याम्पसमा आयोजित प्राविधिक विशेष शिक्षा समितिको तेस्रो सम्मेलनको उद्घाटन गर्दै मैनालीले यस्तो बताइका हुन् ।
मैनालीले भने, "इञ्जिनियरिङ क्षेत्रभित्र सबैभन्दा ठूलो सामन्तवाद छ। युवालाई नमान्ने प्रवृत्ति छ। दाइ प्रथा छ। क्षमता भएका युवाले शीर्ष पदमा उम्मेदवारी दिँदा कर्के नजरले हेर्ने चलन छ। यो पुरातन प्रवृत्ति हो।"
उनले थपे, "मुलुकका कैयन क्षेत्रमा सक्षम युवाहरू शीर्ष नेतृत्वमा पुगेर युवा क्षमतालाई साबित गरिसक्दा पनि इञ्जिनियरिङ क्षेत्रमा भने युवा उम्मेदवार माथिल्लो पदमा उम्मेदवार हुँदा हल्का रूपमा लिने उडाउने 'ट्रेन्ड' बढेको छ।"
मैनालीले NEA चुनावमा युवाहरूलाई प्राथमिकताका साथ मतदान गर्न इञ्जिनियरहरूलाई सुझाव दिए। उनले भने, "जति ठूलो भ्रष्टाचारी, त्यति धेरै पैसा, उति नै धेरै भोटको परम्परा तोडेर नयाँ परिभाषा निर्माण गर्न तयार नभए इञ्जिनियर्स एसोसिएशनको पुनर्संरचना सम्भव छैन।"


