काठमाडौं । श्रम संस्कृति पार्टीले प्रतिनिधि सभाको उपसभामुखमा उम्मेदवार खडा गर्ने भएको छ।
पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत् उपसभामुख पदका लागि पार्टीका तर्फबाट महिला उम्मेदवार उठाउने जानकारी दिएका हुन्। साम्पाङले आफ्नो पार्टीलाई रास्वपाले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाई दिइसक्यौँ, अब उपसभामुख चयनको निर्वाचन हुँदै छ’, अध्यक्ष साम्पाङले शनिबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हामी महिला उम्मेदवार खडा गर्दै छौँ। हेरौँ नयाँले नयाँलाई भोटहाल्छ कि उही पुरानालाई ? ७ भोट आउँछ कि १८९ ? ’
सभामुख पदमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद डीपी अर्याल शुक्रबार नै निर्विरोध निर्वाचित भइसकेका छन्। सभामुखमा उनको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध भएका हुन्।
अब उपसभामुख पदका लागि भने यही चैत २२ गते निर्वाचन हुँदैछ । संविधानअनुसार सभामुख सत्तापक्षको हुँदा उपसभामुख प्रतिपक्षलाई दिनुपर्ने प्रावधान छ। उपसभामुख पदमा नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी र नेपाली कम्युनिस्ट पार्टीले दाबी गरिरहेका छन्। तर रास्वपाले यसमा केही बोलेको छैन् ।


