२०८३, मंसिर १५ गते

सोमबार, मंसिर १५ गते २०८३

सोमबार, मंसिर १५ गते २०८३

प्रधामन्त्रीको निकटताका आधारमा दोषीलाई उन्मुक्ति दिन मिल्दैनः गगन थापा

प्रधामन्त्रीको निकटताका आधारमा दोषीलाई उन्मुक्ति दिन मिल्दैनः गगन थापा

साझा पोष्ट
आइतबार, मंसिर १४ २०८३
  • images
    प्रधामन्त्रीको निकटताका आधारमा दोषीलाई उन्मुक्ति दिन मिल्दैनः गगन थापा
    images

    काठमाडौं,मंसिर १३ । नेपाली कांग्रेसका  सभापति गगनकुमार थापाले प्रधानमन्त्री, मन्त्री, राजनीतिक आस्था र निकटताका आधारमा दोषीलाई उन्मुक्ति दिन नमिल्ने बताएका छन् ।


    images

    पार्टी मुख्यालय सानेपामा जारी ‘हामी तयार छौं अभियान अन्तर्गतको’ स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । गलत क्रियाकलाप गर्ने सबैलाई कानूनी दायरा ल्याउनुपर्ने उनले बताए । कांग्रेसका नेता तथा कार्यकर्ताले गलत गरेको भएमा आफूहरु कारबाही गर्न सहयोग गर्ने तर पूर्वाग्रह वा दुराग्रह राखेमा आन्दोलनमा उत्रिने चेतावनी पनि दिए।

    काँग्रेसमा आवद्ध भएकै आधारमा केही नेताहरुलाई राज्यबाट पूर्वाग्रह, दूराग्रह वा अत्याचारको शिकार बनाउन खोजिएको शंका पैदा भएको उनको भनाई छ । उनले सत्तारुढ दल रास्वपाका नेता तथा कार्यकर्ताको हकमा पनि यही सिद्धान्त लागू हुनुपर्ने बताए । सार्वजनिक टिप्पणी वा आरोपकै आधारमा कसैलाई अपराधी घोषणा गर्ने काम काँग्रेसले नगर्ने उनको भनाई छ । तर प्रधानमन्त्री, प्रधानमन्त्रीको टिम वा रास्वपा सभापतिको निकटताका आधारमा कसैले पनि राज्यबाट अतिरिक्त सुविधा वा कानूनी छुट पाउन नहुने उनले बताए । राजनीतिक पहुँचका आधारमा उन्मुक्ति दिने प्रवृत्तिको काँग्रेसले सधै विरोध गर्ने उनको भनाई छ ।

    उनले भने, ‘काँग्रेस छ, गलत गरेको छ भन्ने आधारमा उसले अतिरिक्त सुविधा केही पनि पाउनु हुँदैन । तर गलत गरेको छैन तर काँग्रेस छ, उसले कुनैपनि खालको राज्यको दूराग्रह, राज्यको अत्याचार, राज्यको पूर्वाग्रहको शिकार पनि हुनुहुँदैन । र यही कुरा रास्वपाको हकमा पनि लागू हुन्छ । कोही साथी रास्वपामा लाग्नुभएको छ, अहिले सरकारको समर्थक हुनुहुन्छ । त्यसकारणले गर्दाखेरि कुनै कहीँ बाहिर आएको सार्वजनिक टिप्पणीको आधारमा नेपाली कांग्रेस हामी उसलाई अपराधी करार गर्दै हिँड्दैनौँ । अपराधी, कोही मान्छे अपराधी हो कि होइन भन्ने काम हाम्रो होइन । कुनै नेताको बारेमा, कुनै मन्त्रीका बारेमा, कसैका बारेमा, रास्वपाका नेताका बारेमा केही कुरा आयो भन्दैमा हामी भन्दै हिँड्दैनौँ, काँग्रेसको क्यारेक्टर यो होइन । तर हामी सँगसँगै फेरि के भन्छौँ भने कोही मान्छे रास्वपाको नजिक छ वा प्रधानमन्त्रीको नजिक छ, प्रधानमन्त्रीको टिममा छ वा रास्वपाको सभापतिजीको टिममा छ भन्ने आधारमा उसले अतिरिक्त सुविधा पाउँदैन, उसले छुट पाउनु हुँदैन । त्यो कुरामा हाम्रो प्रश्न रहन्छ, हाम्रो विरोध रहन्छ, हाम्रो असहमति रहन्छ ।’

    उनले काँग्रेसको सबैभन्दा ठूलो शक्ति नै नैतिक पुँजी भएको बताए । उनले पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो राजनीतिक विरासत र आचरणप्रति जिम्मेवार बन्न पनि आग्रह गरे । वीपी कोईराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको राजनीतिक विरासत बोकेको पार्टी भएकाले कांग्रेसले नैतिक धरातल कमजोर हुन दिन नहुने उनको भनाई छ । उनले हरेक सार्वजनिक व्यक्तिको जीवन पारदर्शी हुनुपर्ने बताए ।

    उनले सरकारले आवश्यक ठानेमा आफूहरु अनुसन्धान र छानबिनको सामना गर्न तयार रहेको पनि बताए । पार्टी सभापतिका रूपमा आफ्नो कारणले कुनैपनि काँग्रेस सदस्यले शीर निहुराउनुपर्ने अवस्था आउन नदिने उनले प्रतिवद्धता जनाए । साथै पार्टीका नेता तथा कार्यकर्तामाथि अन्याय वा राजनीतिक पूर्वाग्रह भएमा त्यसविरुद्ध काँग्रेस उभिने उनको भनाई छ ।

    उनले भने, ‘हाम्रो सबैभन्दा ठूलो स्ट्रेन्थ नै यो हो । हाम्रो सबैभन्दा ठूलो क्यापिटल भनेकै मरल क्यापिटल हो । हामी बीपी कोईराला पार्टीका कार्यकर्ताहरू हौँ, हामी गणेशमान सिंहको पार्टीका कार्यकर्ताहरू हौँ । हामी कृष्णप्रसाद भट्टराईको पार्टीका कार्यकर्ताहरू हौँ । हामीसँग त्यो लेगेसी छ, हामी त्यो ठाउँमा आज बसेका छौँ । त्यसैले हामी प्रत्येक, म मेरो सार्वजनिक जीवन मा मेरो आफ्नो व्यक्तिगत जीवन छ, मेरो आफ्नो परिवार छ, मेरो घरपरिवार छ, मेरो आफ्नो आर्थिक जीवन छ, ती सबै कुराहरूको बारेमा म सार्वजनिक ठाउँमा आएकोले सबै कुरा पारदर्शी हुनुपर्छ । मेरो कहिँकतै कसै सरकारले चाहन्छ, मेरो अनुसन्धान गर्छ, यी सबै कुराहरूको लागि हामी तयार छौँ, हामी त्यसमा खरो उत्रिएर आएका हौँ । त्यो मरल ग्राउण्ड हामीसँग छ । त्यो मरल अथोरिटी हामीसँग छ । म पार्टी सभापतिको कारणले गर्दा एक जना सदस्यको पनि शिर निहुर्न दिन्न । त्यो मेरो जिम्मेवारी हो । यो तागतलाई हामीले तलसम्म लिएर जानुपर्छ, हामी तयार छौँ । हामी जे कुरा पनि फेस गर्न तयार छौँ । तर हामी गलत कुराको भण्डाफोर गर्न पनि तयार छौँ, हामी त्यसमा लड्न पनि तयार छौँ, हाम्रो साथीहरूमाथि भएको अन्यायको विरुद्ध बोल्न पनि हामी तयार छौँ । हाम्रो साथीहरूलाई जो साथीहरूमाथि अहिले पूर्वाग्रह राखिएको छ, ती साथीहरूको पक्षमा उभिन पनि हामी तयार छौँ ।’

    उनले विपक्षी दलका रूपमा काँग्रेसले सरकारका कामकारबाहीमाथि निगरानी र खबरदारी गर्नुपर्नेमा पनि जोड दिए । सुकुम्बासी समस्या, प्राकृतिक विपदमा परेका नागरिकको अवस्था, सहकारी पीडितको रकम फिर्ता गर्ने सरकारी प्रतिवद्धता तथा दलित समुदायसँग सम्बन्धित घोषणाको कार्यान्वयनबारे सरकारलाई जवाफदेही बनाउनुपर्ने उनले बताए । सरकारले घोषणा गरेर ताली पाउने तर कार्यान्वयन नगर्ने प्रवृत्तिलाई विपक्षी दलले निरन्तर प्रश्न गर्नुपर्ने उनको भनाइ छ । उनले सरकारले गरेका हरेक गलत क्रियाकलातको अध्ययन गर्नुपर्ने बताए ।

    उनले भने, ‘सुकुम्बासीको विषय छ, प्राकृतिक विपदमा परेका मान्छेहरूको बिजोगको विषय छ, सहकारी पीडितहरूको रकम फिर्ता गर्ने भनेको छ । तपाईंहरूले अब हेर्नुपर्यो, सरकारले १०० दिनमा गर्ने काम भनेर घोषणा ग¥यो, दलितसँग माफी माग्नेदेखि लिएर के के घोषणा गरेको छ यहाँ ? उसले घोषणा गर्यो, घोषणा गरेको दिन ताली पायो । अनि अहिले सम्झाउने काम हाम्रो हो नि । यत्रा काण्डहरू छन्, अहिले हेर्नुस् त प्राइम मिनिस्टर अफिसको दुरुपयोग गरेर भएका काण्डहरू, यी काण्डहरूका बारेमा तपाईँहरूले एक–एक कुरा पढ्नुपर्छ, यसलाई बुझ्नुपर्छ, मनन गर्नुपर्छ र एकदम निर्धक्क भएर तल साथीहरूको बिचमा लगेर नेपाली काँग्रेस प्रतिपक्षको भुमिका सशक्त ढङ्गले निर्वाह गर्न तयार भएको सन्देश तपाईँहरूले तल लिएर जानुपर्छ ।’

    उनले २०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पती छानबिन गर्न सरकारलाई आग्रह गरे । आफूहरू सार्वजनिक ओहोदामा बसेका सबैको सम्पती छानबिन होस् भन्नेमा रहेको उनको भनाई छ ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार