काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर आगामी साता काठमाडौं आउने भएका छन् ।
भारतीय मूलका कपुर बालेन शाह नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित सोमबार काठमाडौं आउन लागेका हुन् । उनी बालेन शाह नेतृत्वको सरकार गठन भएपछि नेपाल आउन लागेका अमेरिकी सरकारका सबैभन्दा उच्च अधिकारी हुन्।
नेपाल भ्रमणको लागि मात्र भनेर उनी अमेरिका बाहिर निस्किन लागेका हुन्। अमेरिकी विदेशमन्त्री तथा उच्च अधिकारीहरु प्रायः भारत, पाकिस्तान, बंगलादेश वा अन्य दक्षिण, दक्षिण पूर्वी एशियाका देशको भ्रमण क्रममा काठमाडौँ आउने गर्थे।
सहायक विदेशमन्त्री पल अमेरिकाबाट उड्नेछन् इस्तानबुल ट्रान्जिट भएर सिधै काठमाडौं अवतरण गर्नेछन्।
काठमाडौं रहँदा उनले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग छलफल गर्नेछन्। मिलेनियम च्यालेन्ज करपोरेसन (एमसीसी) को नेपाल कम्प्याक्टको छिटो कार्यान्वयनमा अमेरिकी चासो रहँदै आएको छ। काठमाडौं रहँदा सहायक विदेशमन्त्री कपुरले को कोसँग भेट्नेछन्, कुन समय र कुन विषयमा वार्ता गर्नेछन् भन्नेबारे प्रष्ट भैसकेको छैन ।



