काठमाडौं, कात्तिक १७। नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलवारको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १ सय ७५ रनको लक्ष्य दिएको छ ।
टस हारेर कीर्तिपुरमा पहिले ब्याटिंग गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७४ रन बनायो ।
विराटनगरका लागि तीन ब्याटरले अर्धशतक बनाए । आन्द्रे रसेल, इमरान शेख र लोकेश बमले अर्धशतकीय इनिंग्स खेले । रसेलले २९ बलमा आक्रामक ५२ रन बनाए । नटआउट रहेका उनले ५ छक्का र २ चौका हाने, त्यस्तै इमरान शेखले ४५ बलमा ५६ रन बनाउने क्रममा २ छक्का र ५ चौका हाने । यस्तै लोकेश बमले ४० बलको सामना गर्दै ५० रन बनाए । उनले समान तीन चौका र छक्का हाने ।
२ रनमा ओपनर सेहान जयसूर्यालाई गुमाएको विराटनगरका लागि अर्का ओपनर लोकेश बम र इमरान शेखले दोस्रो विकेटका लागि १०७ रनको बलियो साझेदारी गरे । जनकपुरका लागि अभिषेक तिवारीले २ र मोइन अलिले १ विकेट लिए ।



