काठमाडौं। बोस्निया–हर्जगोभिनालाई २–० ले पराजित गर्दै आयोजक अमेरिका फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
गोल गर्ने खेलाडिनै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएर १० खेलाडिमा सीमित भएपनि अमेरिकाले उत्कृष्ट प्रदर्शन गर्दै प्रि क्वार्टर पुगेको हो ।
अमेरिकाको जितमा फोलारिन बालोगन र मालिक टिलम्यानले एक–एक गोल गरे। बालोगनले पहिलो हाफमा गोल गरे पनि दोस्रो हाफमा रातो कार्ड पाएपछि अमेरिका १० खेलाडीमा सीमित भएको थियो।
खेलको ४५औँ मिनेटमा टिम रिमले मध्यभागमा विपक्षीको गोलकिक रोकेपछि मालिक टिलम्यानको पासमा बालोगनले सुन्दर गोल गरेर अग्रता दिलाए । यो विश्वकपमा उनको तेस्रो गोल थियो।
तर ६४औँ मिनेटमा तारिक मुहरेमोभिचमाथि फाउल गरेपछि बालोगनले रातो कार्ड पाए र अमेरिका बाँकी समय १० खेलाडीमा खेल्न बाध्य भयो ।
तर पनि अमेरिकाले दबाब झेल्दै खेल नियन्त्रणमा राख्यो। ८२औँ मिनेटमा बक्सबाहिरबाट प्राप्त फ्रिकिकमा टिलम्यानले प्रहार गरेको बल गोलकिपर निकोला भासिल्जको हातमा लाग्दै जाली चुमेपछि अमेरिकाले २–० को अग्रता लियो र विजयी भयो ।
अमेरिकाले अन्तिम १६ मा सोमबार सिएटलमा बेल्जियमको सामना गर्नेछ।


