काठमाडौं,साउन २७ । बालेन सरकारको नीति र व्यवहारप्रति असन्तुष्टि जनाउँदै दुई जना सचिवले राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा दुई तिहाइको सरकार बनेपछि निजामती कर्मचारीमा राजीनामाको लहर चलेको छ।
सरकारले लिन खोजेको नीति र दृष्टिकोणबाट आजित भएर सचिवदेखि खरिदार तहसम्मका निजामती कर्माचारीले राजीनामा दिइरहेका छन्।
मंगलबार सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. कमलप्रसाद पोख्रेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम अधिकारीले राजीनामा दिएका हुन् । उनीहरुको राजीनामा स्वीकृत भैसकेको बताइएको छ ।
सचिव पोखरेलको सेवा अवधि एक वर्ष बढी बाँकी थियो। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारीबाट सञ्चार मन्त्रालयमा सरुवा गरिएकोमा असन्तुष्ट रहेका पोखरेलले अन्तत राजीनामा दिएका छन्।
अधिकारी भदौ ४ मा अनिवार्य अवकाशमा जाँदै थिए। सरकारले ५५ वर्ष उमेर पूरा भएका र ३० वर्षे सेवा अवधि पूरा भएका कर्मचारीहरूलाई अनिवार्य अवकाशमा पठाउने योजनासहित संघीय निजामती सेवा विधेयकको मस्यौदा अगाडि बढाएपछि कर्मचारीले धामाधम राजीनामा बुझाउन थालेका छन्। यसअघि राजीनामा दिनेमा सहसचिवसम्म मात्र थिए।सरकारका काम, क्रियाकलाप र कार्यशैलीलाई लिएर असन्तुष्टि बढ्ने क्रममा राजीनामा आएको छ । मुख्यसचिव नियुक्तिमा सरकारले चालेको कदम र अवकाश उमेर हदका विषयमा कर्मचारीतन्त्रमा विवाद र बहस छ ।


