काठमाडौं,भदौ ४ । काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले राज्यका निकायले गर्ने कानुनी छानबिनका लागि आफू र आफ्नो परिवार सधैं तयार रहेको बताएकी छिन् ।
अख्तियारले छानबिन गरिरहेको चर्चाका बिच गंगा दाहालले मुख खोलेकी हुन् । उनले आफ्नो परिवारविरुद्ध बेला बेलामा अफवाह फैलने गरेको भन्दै त्यसतर्फ सरकारको समेत ध्यानाकर्षण गराएकी छिन् ।
‘हामीले हजारौं शहीदको रगत साटेर बनाएको संविधान र कानुनबमोजिम, जुनसुकै निकायले गर्ने कानुनी छानबिनका लागि म र मेरो परिवार सदैव तयार छौं,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘तर फेरि पनि बेला–बेलामा यस्ता अफवाह किन फैलाइन्छन् ? कुन उद्देश्यका साथ फैलाइन्छन् ? म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
आफूहरू मृत्युको मुखबाट बाँचेर आएको उल्लेख गर्दै के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने विषय राम्रोसँग थाहा भएको पनि उनले जिकिर गरेकी छन् ।
‘हामी मृत्युवरण गर्छौं तर जनतालाई धोका दिन सक्दैनौ यहि नै हाम्रो स्कुलिङ हो । आफ्नो व्यक्तिगत जीवनसमेत नभनी मैले मेरो बुवालाई छोरीको नाताले सहयोग गर्नु नै मेरो अपराध हो त ? म यस समाजका अगुवाहरूलाई प्रश्न गर्न चाहन्छु । म हरेक आमा बुवालाई प्रश्न गर्न चाहन्छु,’ उनले लेखेकी छिन् ।
दाहालले आफूहरूबाट अहिलेसम्म कुनै आर्थिक गलत गतिविधि नभएको, पदको दुरुपयोग नभएको र भोलिका दिनमा पनि नहुने पनि दाबी गरेकी छिन् ।
‘म फेरिपनि स्मरण गराउन चाहन्छु कि हामीले हाम्रो सम्पत्ति विवरण सरकार समक्ष केहि समय अघि नै बुझाइसकेका छौं । सरकारले गर्ने जुनसुकै अनुसंधानका लागि हाम्रो सहयोग रहनेछ, गलत गरेको पुष्टि भए कारबाही भोग्नेछौं । तर बिनाकारण र बिना गल्तिको आरोप स्वीकार्य छैन । यी सबै खाले आरोप म अस्वीकार गर्दछु ।’

