२०८३, असोज १८ गते

आइतबार, असोज १८ गते २०८३

आइतबार, असोज १८ गते २०८३

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित

साझा पोष्ट
आइतबार, भदौ १४ २०८३
  • images
    images
    एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित

    काठमाडौं, भदौ १४ ।  नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)ले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीलाई २.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ।


    images


    कम्पनीको दोस्रो वार्षिक साधारणसभा आइतबार अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको हो। सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा लेखापरीक्षण प्रतिवेदन अनुमोदन गरेको छ। सञ्चालक समितिबाट नियुक्त स्वतन्त्र सञ्चालकलाई पनि सभाले अनुमोदन गरेको छ।


    सभाले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १५ लाख ५७ हजार ३४३ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ।


    त्यस्तै, कम्पनीको उद्देश्यसँग मेल खाने अन्य कम्पनी गाभ्ने, प्राप्ति गर्ने वा किन्ने अधिकार सञ्चालक समितिलाई दिने निर्णय भएको छ।

    सभाले कम्पनीको प्रबन्धपत्रमा थप व्यवस्था गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ। नयाँ व्यवस्थाअनुसार एनडीपीले परिवर्तनीय डिबेञ्चर, प्राथमिकता प्राप्त सेयर तथा विदेशी लगानीकर्तालाई लक्षित विभिन्न वित्तीय उपकरण जारी गर्न सक्नेछ। अन्तर्राष्ट्रियस्तरका ग्रिन क्लाइमेट फन्ड तथा ब्लेन्डेड फाइनान्सजस्ता कोषबाट वित्तीय सहयोग लिन सक्ने व्यवस्था पनि गरिएको छ।

    त्यसैगरी, कम्पनीको जारी पुँजीको २० प्रतिशत सर्वसाधारणका लागि छुट्याउने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ। नियामक निकायबाट प्रबन्धपत्रमा थप संशोधन वा सुधार गर्न निर्देशन आएमा आवश्यक प्रक्रिया पूरा गर्ने जिम्मेवारी सञ्चालक समितिलाई नै दिने निर्णय भएको छ।


    एनडीपीले आर्थिक वर्ष २०८२/८३ मा करपछिको ७ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको कुल चुक्ता पुँजी १ अर्ब १८ करोड ३५ लाख रुपैयाँ पुगेको छ।

    सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपाल सरकारले वैकल्पिक वित्तीय वृत्त निर्माणको कार्यक्रम अघि बढाउनुभन्दा अघि नै एनडीपी स्थापना गरिएको बताए। स्वदेशी पुँजी परिचालन गरी ठूला पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने, नेपालमा लगानीको अनुकूल वातावरण रहेको सन्देश दिने तथा वैदेशिक रोजगारीमा जान बाध्य युवालाई स्वदेशमै लगानी र रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले कम्पनी स्थापना गरिएको उनको भनाइ थियो।

    “मुलुकभित्र र बाहिर छरिएर रहेको पुँजी सङ्कलन गरी उत्पादनमूलक क्षेत्र, ठूला पूर्वाधार र महत्वपूर्ण आयोजनामा लगानी गर्न सकेमा मात्र देशको आर्थिक रूपान्तरण सम्भव हुन्छ,” अध्यक्ष ढकालले भने।

    उनले एनडीपी नाफा कमाउने उद्देश्यमा मात्र सीमित नभई मुलुकभित्र पुँजी परिचालन र लगानीको वातावरण सुधारमा समेत योगदान गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए।

    कम्पनीका सेयरधनी देशका ७७ वटै जिल्लामा पुगेकोमा अध्यक्ष ढकालले खुसी व्यक्त गरे। आगामी दिनमा जलविद्युत्, केबलकार तथा पर्यटन र सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी विस्तार गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार