काठमाडौं,भदौ २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ २४ मा भएका घट्नालाई राज्यका आधारस्तम्भ, लोकतन्त्रका धरोहर र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डमाथि भएको ‘सर्वाधिक ठूलो आक्रमण र विध्वंस’ भनेका छन् ।
भदौ २४ गतेको विध्वंसको एक वर्ष पूरा भएको दिन पारेर विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले यस्तो भनेका हुन् । ओलीले विज्ञप्तिको शुरुमै भनेका छन, आज भदौ २४ गते । राज्यका आधारस्तम्भ, लोकतन्त्रका धरोहर र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डमाथि भएको सर्वाधिक ठुलो आक्रमण र विध्वंशको एक वर्ष पूरा भएको दिन ।
२४ भदौको विध्वंश नवयुवा प्रदर्शनबाट सिर्जित आवेग नभएको ओलीले टिप्पणी गरेका छन । उनले भनेका छन्, शान्तिपूर्ण प्रदर्शनलाई अपहरण गरेर सुनियोजित रूपले लोकतन्त्रमाथि आक्रमण गर्ने तत्वहरूको उद्देश्य बेग्लै थियो । उनीहरूले भोलिपल्ट राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, लोकतान्त्रिक पार्टीका कार्यालयहरू, शहीद र अग्रजहरूका स्मारक एवं सार्वजनिक र निजी सम्पत्तिमाथि जुन अनुपातको आगजनी, विध्वंश र आक्रमण गरे, नेपालको इतिहासकै त्यो कालो अध्याय थियो । अझ प्रधानमन्त्रीले राजिनामा गरिसकेपछि घटित यी समग्र घटनाक्रमले स्पष्ट पार्छ, भदौ २४ को त्यो त्रासदी अघिल्लो दिन नवयुवाहरूको ज्यान गएको घटनाबाट सिर्जित कुनै आवेग या आक्रोशको घटना थिएन । त्यो त राष्ट्रियता, लोकतन्त्र र संविधानको प्रगतिशील ‘कोर्स’ लाई उल्ट्याएर मुलुकलाई सर्वसत्तावाद, अराजकता र भूराजनीतिक द्वन्द्वमा होम्ने घातक योजनाको मूर्त रूप थियो ।'
उनले राज्यका मुख्य धरोहरमाथि आक्रमण हुँदा सुरक्षा निकायले किन नरोकेको भनेर प्रश्न समेत उठाएछन ।
'नेपाल राज्यका मुख्य धरोहर र लोकतन्त्रमाथि आक्रमण हुँदा राज्यका सुरक्षा निकायले त्यसलाई किन रोक्न सकेनन् भन्ने प्रश्न आज पनि अनुत्तरित छ । व्यावसायिक क्षमताको अभाव हो कि निष्ठाको भनेर समाजमा उठिरहेका प्रश्नको यथोचित उत्तर खोजिनु आवश्यक छ ।' ओलीको विज्ञप्तिमा भनिएको छ ।



