काठमाडौं,भदौ २५ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले जेनजी विद्रोहपछि सिंहदरबार, गृह मन्त्रालयलगायत सरकारी संरचनाको पुनर्निर्माणमा भइरहेको ढिलाइप्रति प्रश्न उठाएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै आचार्यले निजी क्षेत्रले द्रुत गतिमा काम गर्न सक्ने अवस्थामा सरकारले भने पुनर्निर्माणलाई तीव्रता दिन नसकेको भन्दै प्रश्न गरे ।
उनले जेनजी विद्रोह भएको एक वर्ष पुग्न लाग्दासमेत सरकारी संरचनाको पुनर्निर्माण पूरा नभएको उल्लेख गर्दै रसुवा र नुवाकोटमा हालै आएको बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण चाँडो हुन्छ भनेर कसरी विश्वास गर्ने भन्ने प्रश्न गरे ।
‘यो वर्षको बजेट नै नयाँ संसद् भवनबाट हुने भनिएकोमा आज पनि अस्थायी भवनबाट कुरा राखिरहेको छु,’ उनले भने, ‘राज्यको मुटु मानिने सिंहदरबार र सार्वभौम संसद्कै निर्माण गति यति धेरै सुस्त हुँदै गर्दा रसुवा र नुवाकोटका नागरिकले पुनर्निर्माण सही दिशामा हुन्छ भन्ने विश्वास गर्ने ?’
आचार्यले पुनर्निर्माणमा देखिएका नीतिगत कमजोरी पहिचान गरी कामको गति बढाउनुपर्नेमा जोड दिए ।



