काठमाडौं,असोज १५ । क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण क्याम्प छाडेका छन्।
रोनाल्डोले सामाजिक सञ्जालमार्फत आफूले राष्ट्रिय टोलीको क्याम्प छाड्ने निर्णय गरेको जानकारी दिएका हुन्। तर क्याम्प छाड्नुको कारण भने उनले ‘समय आएपछि’ सार्वजनिक गर्ने बताएका छन्।
उनले पोर्चुगल फुटबल महासंघका अध्यक्षसँग कुराकानी गरेपछि क्याम्प छाड्ने निर्णयमा पुगेको बताएका छन्।
‘राष्ट्रिय टोलीको पत्रकार सम्मेलनपछि र पोर्चुगल फुटबल महासंघका अध्यक्षसँगको कुराकानीपछि मैले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाड्ने निर्णय गरेको छु,’ रोनाल्डोले लेखेका छन्, ‘समय आएपछि म किन क्याम्प छाड्ने निर्णयमा पुगेँ भन्ने सम्पूर्ण सत्य पोर्चुगलका जनतालाई बताउनेछु।’
रोनाल्डोको क्याम्प छाड्ने निर्णय प्रशिक्षक जोर्जे जेसुससँगको असमझदारीको चर्चाबीच आएको हो। यसअघि रोनाल्डोले प्रशिक्षण गर्न अस्वीकार गरेको दाबी सार्वजनिक भए पनि जेसुसले टोलीभित्र कुनै विवाद नरहेको बताएका थिए।
नर्वेविरुद्धको खेलमा रोनाल्डो बेन्चमै बसेपछि विवादको चर्चा चुलिएको थियो। ओस्लोमा भएको खेलमा पोर्चुगल २–१ ले विजयी हुँदा रोनाल्डो मैदान प्रवेश गरेनन्। खेल सकिएपछि उनी टोलीका अन्य खेलाडीसँग समर्थकतर्फ नगई सिधै ड्रेसिङ रुमतर्फ लागेका थिए।
तर डेनमार्कविरुद्धको नेसन्स लिग खेलअघि जेसुसले रोनाल्डोसँग कुनै घटना वा विवाद नभएको स्पष्ट पारेका थिए। तर एक्कासी रोनाल्डोले क्याम्प छोडेका छन् ।
उनले आगामी खेलका लागि टोलीका सहकर्मीलाई शुभकामना दिएका छन्।



