काठमाडौं,असोज १७ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा दुईदिने भ्रमणका लागि शुक्रबार राति अमेरिकाको वाशिङ्टन डीसी प्रस्थान गरेका छन् ।
१९ र २० असोजमा हुने भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले द्विपक्षीय सहयोग अभिवृद्धि, नेपाललाई एफएटीएफको ग्रे लिस्टबाट बाहिर निकाल्ने प्रयास तथा बृहत् आर्थिक सुधारका विषयमा उच्चस्तरीय भेटवार्ता गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।
उनले विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय तथा इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) का उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । यस्तै, निजीक्षेत्रका अग्रणी लगानीकर्तासँग पनि छलफल गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा हालैको रसुवा बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालनका विषयमा विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिसँग छलफल गरिनेछ ।
सडक, विद्युत् प्रसारण लाइनलगायत महत्त्वपूर्ण पूर्वाधारमा लगानी बढाउँदै रोजगारी र आर्थिक अवसर सिर्जना गर्ने उद्देश्यले विकास साझेदार तथा निजीक्षेत्रको लगानी अभिवृद्धिका लागि पनि पहल गरिने अर्थ मन्त्रालयले जनाएको छ ।



