काठमाडौं,असोज २२ । नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।
बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा सम्पन्न बैंकको साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण शेयरधनीका लागि प्रस्ताव गरिएको उक्त लाभांश पारित गरेको हो । सभाले अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीका लागि आठ प्रतिशत लाभांश समेत पारित गरेको छ । साधारणसभा उद्घाटन कार्यक्रममा पहिलो पटक मौलिक संस्कृतिको प्रवर्धन गर्दै प्रस्तुति प्रस्तुत गरिएको थियो ।
साधारणसभाले सञ्चालक समितिको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट साधारण शेयरधनीलाई पाँच प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको चुक्ता पुँजी रु. ३३ अर्ब ४० करोड नाघेको छ ।
आर्थिक वर्ष २०८२/८३ मा बैंकले रु. ७ अर्ब ९१ करोड खुद मुनाफा आर्जन गरेको थियो । बैंकले गत आर्थिक वर्षको तुलनामा निक्षेप दायित्व रु. ६९ अर्ब ६७ करोड अर्थात् १३.०६ प्रतिशतले बढेर रु. ६ खर्ब २ अर्ब ९३ करोड पुगेको जनाएको छ । साथै सोही अवधिमा कर्जा तथा सापटी रु. ५१ अर्ब ६८ करोड अर्थात् १२.१५ प्रतिशतले बढेर रु. ४ खर्ब ७६ अर्ब ८७ करोड पुगेको छ । बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा वासलातको आकार १५.३८ प्रतिशतले बढेर रु. ७ खर्ब ३४ अर्ब ७६ करोड पुगेको छ ।
सभामा अध्यक्ष चौधरीले नबिल बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै बैंकिङ सेवालाई आधुनिकीकरण तथा विस्तार गर्दै आएको बताए । बैंक देश, समाज, शेयरधनी, ग्राहक, नियमनकारी निकाय, कर्मचारीलगायतका विभिन्न सरोकारवालाहरूको अधिकार र चासोको कदर गर्दै अत्यन्त सजग र सन्तुलित व्यवहारमा विश्वास राखेर काम गर्दै आएको र सामाजिक उत्तरदायित्वमा पनि सक्रिय रहेको अध्यक्ष चौधरीले उल्लेख गरे ।
नबिल बैंक स्थापना गर्दाको चुक्ता पुँजी हाल ९६० गुणाले वृद्धि भएको जनाइएको छ । साधारणसभाले संस्थापक शेयरधनीतर्फबाट सञ्चालक समितिमा निर्वाणकुमार चौधरी, मलय मुखर्जी र सइद मन्सुर मुस्तफालाई निर्विरोध निर्वाचित गरेको छ।
नबिल बैंकले देशभर २६२ शाखा तथा ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले २८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालासँग मिलेर सँगै अघि बढ्ने विश्वास राखेको छ ।
चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ । बैंकले सन् २०३० सम्म एआई रेडी बैंक बन्ने लक्ष्य लिएको छ । साथै बैंकको भिजन मिसन स्टेटमेन्टलाई समेत परिवर्तन गरी पञ्चतत्वका आधारमा पाँच टिः ट्रष्ट, ट्रान्सपरेन्सी, ट्यालेन्ट, टेक्नोलोजी र ट्रान्सफरमेसनको अवधारणालाई अघि बढाएको छ ।
नबिल बैंकले साधारणसभा समयमै सम्पन्न गर्न सहयोग गर्ने शेयरधनी, नियामक निकाय, ग्राहक वर्ग, बैंकका कर्मचारी र अन्य सम्बद्ध निकायहरूप्रति आभार व्यक्त गरेको छ ।



