काठमाडौं,असोज ३१ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई सिरिजमा नेपाल अहिले केहीबेरमा क्यानडासँग खेल्दैछ ।
अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा टस हारेर नेपालले बलिङ गरिरहेको छ । टस जितेर क्यानडाले ब्याटिङ रोजेको हो ।
नेपालले यसअघि भएका दुवै खेल जितेको थियो । नेपालले पहिलो खेलमा क्यानडा र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो ।
लिग २ अंकतालिकामा छैटौं स्थानमा रहेको नेपालको ३४ खेलमा २८ अंक छ भने सातौं स्थानमा रहेको क्यानडाको ३५ खेलमा २७ अंक छ ।
सुरुमा ओमान र नेपालसँग हार बेहोरेको क्यानडाले तेस्रो खेलमा ओमानलाई हराएको थियो । क्यानडाले ओमानलाई जित्दा नेपालको शीर्ष ६ मा पर्ने सम्भावना अझै पक्का हुन सकेन । आजको खेलमा नेपालले क्यानडालाई जिते नेपालको छैटौं स्थान पक्का हुनेछ ।
आजको खेलमा नेपाल क्यानडासँग पराजित भएमा छैटौं स्थानमा रहनका लागि अन्तिम खेलमा सोमबार ओमानलाई हराउनुपर्नेछ ।



