काठमाडौं, कात्तिक १९ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा आज दुईवटा खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै छन् । लुम्बिनी र जनकपुर बोल्ट्सबीचको खेल मध्याह्न साढे १२ बजे सुरु हुनेछ ।
अंक तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स आफ्नो अपराजित यात्रालाई कायम राख्ने लक्ष्यका साथ मैदान उत्रिनेछ । जनकपुर बोल्ट्स भने डिफेन्डिङ च्याम्पियन लुम्बिनीलाई हराउँदै प्लेअफ पुुग्ने सम्भावनालाई बलियो बनाउन चाहन्छ । तीन खेल खेलेको लुम्बिनी अपराजित छ ।
चार खेले खेलिसेको जनकपुर बोल्ट्सले दुई जित र दुई हारसँगै ४ अंक जोडेको छ । पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको लुम्बिनीले दोस्रो खेल वर्षाका कारण रद्द हुँदा चितवन राइनोजसँग अंक बाँडेको थियो । तेस्रो खेलमा भने लुम्बिनीले पोखरा एभेन्जर्समाथि ८ विकेटको जित निकालेको थियो ।
पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुर बोल्ट्सले दोस्रो खेलमा काठमान्डु गोर्खाज र तेस्रो खेलमा पोखरा एभेन्जर्समाथि जित निकालेको थियो । चौथो खेलमा भने जनकपुर बोल्ट्सले विराटनगर किंग्ससँग २ रनको हार बेहाेरेको थियो ।
यस्तै, दोस्रो खेलमा विराटनगर किंग्स र काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टिमबीचको खेल साँझ ५ बजे सुरु हुनेछ । विराटनगर किंग्सले ४ खेलबाट ४ अंक जोडेको छ भने काठमान्डु गोर्खाजको २ खेलबाट २ अंक छ ।



