काठमाडौं, कात्तिक २० । नेकपा एमालेका नेता गोकुल बास्कोटाले संविधानमा व्यवस्था नभए पनि गएको निर्वाचनमा जनताले वालेन्द्र शाह (बालेन) लाई सोझै प्रधानमन्त्री चुनेको दाबी गरेका छन्।
रास्वपाका सभापति रवि लामिछाने र सोही पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहबीच सरकार सञ्चालनको विषयलाई लिएर मनमुटाव र द्वन्द्व चलिरहेका बेला बास्कोटाको टिप्पणी आएको हो ।
रवि अहिले बालेनको साक्षी मात्रै रहेको र पार्टी सत्ता र राज्य सत्ताको लडाईंमा पार्टीले हार्ने गरेको इतिहास रहेको भन्दै बालेनसँग रविले हार्ने ठोकुवा पनि उनले गरेका छन् ।
‘चुनावमा जनताले व्यवस्था नभए पनि वालेनलाई सोझै प्रम चुनेका हुन्,’ बाँस्कोटाले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘तसर्थ चार वर्ष रवि बालेनको साक्षी मात्र हुन्। र, यो नयाँ होइन। पार्टी सत्ता र राज्यसत्ताको नेतृत्व द्वन्द्वमा पार्टी हारेको इतिहास छ। बीपी मातृकादेखि आजसम्म-यत्रतत्र सर्वत्र!’



