काठमाडौं, कात्तिक १९ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कमजोर धरातलमा नउभिएको प्रष्ट पार्दै सरकारका गलत कामविरुद्ध बोल्न नछोड्ने बताएका छन् ।
पार्टीको आधिकारिकताको विषयमा बिचौलिया इनम सापकोटाको सार्वजनिक अडियोको विषयमा थापाले प्रष्टीकरण दिएका हुन् । उनले आफ्ना हातहरू सफा रहेको र त्यसमा ढुक्क हुने नेता, कार्यकर्ता र शुभेच्छुकलाई अपिल गरेका छन् ।
‘ढुक्क हुनुहोस् म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति– कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। मेरा हातहरू सफा छन्,’ उनले भिडियो सन्देश जारी गर्दै भने, ‘मेरा पक्षमा ढुक्कले बोल्नुहोस्।’
उनले गलत प्रश्न आफूलाई नगर्न पनि आग्रह गरेका छन्। ‘गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ’ उनले भनेका छन्।
इनम सापकोटाले नाम लिएको विषयमा उनले थपे, ‘करोडको कुरा गर्छन्। नेपाली कांग्रेसको आधिकारिताको कानुनी लडाईँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन, अनुचित काम गरेको छैन, भएको छैन।’
यसमा अनुसन्धानका लागि आफू र आफ्नो पार्टी तयार रहेको पनि उनले प्रष्ट पारेका छन् । उनले आफूले कुनै गलत काम नगरेकोले नेता कार्यकर्ताले जिम्मा लिएर बोल्न सक्ने पनि बताएका छन् ।



