

































काठमाडौं, कात्तिक २४ । नेपालीहरूको दोस्रो ठूलो चाड यमपञ्चक (तिहार) को आगमनसँगै काठमाडौँ उपत्यकालगायत देशभरका प्रमुख बजारहरूमा भाइ मसला, सप्तरङ्गी टीका र सगुनका सामग्रीको किनमेल गर्नेहरूको अभूतपूर्व चहलपहल बढेको छ ।
ऐतिहासिक व्यापारिक केन्द्र असन, इन्द्रचोक, नयाँसडकका गल्लीहरूदेखि स्थानीय किराना पसल र सुपरमार्केटसम्म दिदीबहिनीहरूको बाक्लो उपस्थिति छ ।
परम्परागत नाङ्लो र माना–पाथीदेखि आधुनिक लेमिनेटेड गिफ्ट बक्ससम्म सजिएका भाइ मसलाहरूले दिदीबहिनी र दाजुभाइबीचको आत्मीय, पवित्र र अगाध स्नेहलाई जीवन्त बनाइरहेका छन् । काठमाडौंको मुटु मानिने असनको मसला गल्लीमा हिँडिसक्नु छैन । पसलभरि झुन्ड्याइएका किसमिस, छोकडा, काजु र बदामका प्लास्टिकका लर्काहरूले बजारलाई पहेँलो, खैरो र चहकिलो रङमा रङ्गाएको छ ।
बिहान सबेरैदेखि बेलुकी अबेरसम्म दिदीबहिनीहरू हातमा झोला लिएर उत्कृष्ट गुणस्तरका मसला छान्न व्यस्त देखिन्छन् । स्थानीय व्यापारीहरूका आयातित ड्राइफ्रुट्सको आपूर्ति सहज भएपनि ढुवानीका कारण केही सामग्रीमा सामान्य मूल्यवृद्धि देखिएको छ । तर मूल्यवृद्धिको कुनै असर दिदीबहिनीको उत्साहमा परेको छैन । भाईटीकामा दिइने भाइ मसलामा राखिने प्रत्येक अन्न र फलफूलको आफ्नै विशिष्ट आध्यात्मिक, पौराणिक र स्वास्थ्यवर्धक महत्व रहेको छ । हाम्रा पुर्खाहरूले मौसमी परिवर्तन (शरद ऋतुबाट हेमन्त र शिशिर ऋतुतर्फको प्रवेश) सँगै शरीरलाई रोगप्रतिरोधात्मक क्षमता आवश्यक पर्ने भएकाले यस्ता उच्च पौष्टिक तत्वयुक्त सुक्खा फलफूलको प्रचलन बसालेका हुन् ।
तिहार केवल बत्ती र देउसी–भैलोको पर्व मात्र होइन, यो मानवीय सम्बन्धलाई प्रगाढ बनाउने र दिदीबहिनीको मनको पवित्र भावनालाई कदर गर्ने चाड हो । भाइ मसलाको खरिदविक्री र सगुनको आदानप्रदानले नेपालको रैथाने अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै हाम्रो सांस्कृतिक वैभवलाई भावी पुस्तासम्म अक्षुण्ण राख्न मद्दत पु¥याएको छ । सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा भाइटीकाको मङ्गलमय शुभकामना ।

































