काठमाडौं, मंसिर ९ । निर्वाचन आयोगले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट आएको नयाँ कार्यसमितिको विवरण अद्यावधिक गरेको छ।
आयोगले नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पुनः आधिकारिक मान्यता दिएको हाे ।
आयोगले गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित २३१ सदस्यीय केन्द्रीय कार्यसमिति तथा महाधिवेशनबाट पारित संशोधित विधान र राजनीतिक दस्तावेजलाई अद्यावधिक गरेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कांग्रेसले पेस गरेका कागजात र महाधिवेशनका निर्णयको कानुनी अध्ययनपछि मंगलबार बसेको आयोगको बैठकले विवरण अद्यावधिक गर्ने निर्णय गरेपछि सोही निर्णयअनुसार बुधबार आयोगले कांग्रेसलाई आधिकारिक पत्र उपलब्ध गराएको हाे ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालले पनि आयोगबाट कार्यसमिति र विधान अद्यावधिक भएको पत्र प्राप्त भएको पुष्टि गरे।
सभापति थापाले पार्टी केन्द्रीय समितिको बैठकमा निर्वाचन आयोगबाट १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्ने निर्णयसहितको पत्र प्राप्त भएको जानकारी गराएका थिए।
यसअघि विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई पनि निर्वाचन आयोगले आधिकारिकता दिएको थियो। सोही कार्यसमितिले आयोजना गरेको १५औँ नियमित महाधिवेशनबाट थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको हो।
महाधिवेशनपछि महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले कात्तिक १६ गते विधान संशोधन, राजनीतिक दस्तावेज र महाधिवेशनका निर्णयसहित कार्यसमिति अद्यावधिक गर्न आयोगमा निवेदन दिएको थियो।
आयोगको पछिल्लो निर्णयसँगै १५औँ महाधिवेशनबाट निर्वाचित कांग्रेसको नयाँ नेतृत्व, पदाधिकारी र केन्द्रीय सदस्यहरूको विवरण आयोगको अभिलेखमा औपचारिक रूपमा अद्यावधिक भएको छ।पूर्वसभापति शेरबहादुर देउवा समूहले आफूहरूले मंसिर २१ गते महाधिवेशन गर्ने भन्दै आयोगमा कार्यतालिकासहितको पत्र बुझाएको थियो। तर, आयोगले गगनलाई नै मान्यता दिने यसअघिको निर्णयको निरन्तरता दिएको छ।
यद्यपि, कांग्रेसको आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा अझै विचाराधीन छ।



