काठमाडौं, मंसिर ८ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेका जनप्रतिनिधिलाई आफू निर्वाचित भएको पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसको चुनाव चिह्न ‘रुख’ लिएर निर्वाचित भएका तर पार्टीको आधिकारिक निर्णयविपरीत गतिविधिमा संलग्न हुने जनप्रतिनिधिलाई पदमा बसिरहन नैतिक रूपमा उचित नहुने बताएका हुन् ।
थापाले राष्ट्रिय सभा, प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहमा कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएका जनप्रतिनिधिलाई लक्षित गर्दै पार्टीको सदस्यता छाडेर अर्को पार्टीको गतिविधिमा संलग्न हुने भए आफू निर्वाचित भएको पदबाट समेत राजीनामा दिन आग्रह गरे ।
उनले कांग्रेसको विधानअनुसार पार्टीको चुनाव चिह्नबाट निर्वाचित व्यक्ति अर्को पार्टीमा प्रवेश गरेमा कांग्रेसको सदस्यता कायम नरहने व्यवस्था रहेको उल्लेख गरे ।
‘तपाईं राष्ट्रिय सभामा हुनुहुन्छ, प्रतिनिधिसभामा हुनुहुन्छ, प्रदेशसभामा हुनुहुन्छ वा स्थानीय तहको मेयर, उपमेयर र वडाध्यक्ष हुनुहुन्छ भने कांग्रेसको सदस्यता छाडेर अर्को कुनै पार्टीको सदस्यता लिन जानुभयो भने अहिले जुन पदमा हुनुहुन्छ, त्यसबाट राजीनामा गर्नुहोला,’ थापाले भने ।
राजीनामा नदिए पार्टी विधानअनुसार आवश्यक प्रक्रिया अघि बढाइने उनको चेतावनी थियो । आफू कसैलाई व्यक्तिगत रूपमा पार्टीबाट निकाल्ने पक्षमा नरहेको स्पष्ट पार्दै उनले विधानको कार्यान्वयन गर्नु सभापतिको जिम्मेवारी भएको बताए ।
एउटै पार्टीका दुईवटा महाधिवेशन हुन सक्दैनन्
सभापति थापाले नेपाली कांग्रेस एउटै पार्टी भएको र त्यसको महाधिवेशन सम्पन्न भइसकेको उल्लेख गर्दै अर्को पक्षले गर्न लागेको महाधिवेशनलाई कांग्रेसको आधिकारिक महाधिवेशनका रूपमा स्वीकार गर्न नसकिने बताए ।
पूर्वसभापति देउवा पक्षले छुट्टै महाधिवेशनको तयारी गरिरहेका बेला थापाको यस्तो अभिव्यक्ति आएको हो । देउवा पक्षका केही नेता तथा जनप्रतिनिधि समानान्तर गतिविधिमा सक्रिय रहेको विषयलाई उनले पार्टीको विधान र अनुशासनसँग जोडेर व्याख्या गरे ।
महाधिवेशनमा सहभागी नभएका वा पार्टीभित्र असन्तुष्ट रहेका नेता तथा कार्यकर्ताका लागि संवादको ढोका भने बन्द नभएको उनको भनाइ थियो । पार्टीभित्रका असन्तुष्टि छलफलबाट समाधान गर्न आफू तयार रहेको उनले बताए ।
थापाले महाधिवेशनमा पराजित भएका वा जिम्मेवारी नपाएका नेताहरू अन्यत्र लाग्ने प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाए ।
उनले पूर्वसभापति शेरबहादुर देउवालाई समेत राजनीतिक मर्यादा कायम राख्न आग्रह गरे । पाँच पटक प्रधानमन्त्री र दुई पटक पार्टी सभापति भइसकेका देउवा आफ्नो अभिभावक र नेता रहेको उल्लेख गर्दै उनले देउवाले आफ्नो राजनीतिक उचाइ र मर्यादा कायम राख्नुपर्ने बताए ।
कांग्रेसभित्र आधिकारिक नेतृत्व र महाधिवेशनको विषयलाई लिएर विवाद चर्किरहेका बेला थापाको पछिल्लो अभिव्यक्तिलाई देउवा पक्षसँगको विवादमा लिइएको कडा अडानका रूपमा हेरिएको छ ।



