काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बीच पाँच घण्टा लामो भेटवार्ता भएको छ ।
बिहीबार प्रधानमन्त्री शाह रास्वपा सभापति लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित उनको निवास पुगेका थिए । दुई नेताबीच करिब पाँच घण्टासम्म समसामयिक राजनीतिक विषय, सरकारका कामकारबाही र आगामी निर्वाचनको तयारीलगायत विषयमा छलफल भएको हो ।
लामिछानेको सचिवालयका अनुसार भेटवार्तामा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारत भ्रमण र त्यसक्रममा भएका छलफल तथा उपलब्धिबारे पार्टी सभापति लामिछानेलाई जानकारी गराएका थिए ।
त्यस्तै, आगामी निर्वाचनको तयारी, पार्टीको संगठन विस्तार तथा रास्वपाले सञ्चालन गर्न लागेको प्रशिक्षण अभियानका विषयमा पनि छलफल भएको जनाइएको छ ।
भेटमा सरकारको कार्यसम्पादन, मन्त्रीहरूको भूमिका तथा विभिन्न मन्त्रालयका कामकारबाहीबारे समेत समीक्षा भएको थियो । यसैगरी सरकारले ल्याउन लागेको अध्यादेश र आगामी संसद् अधिवेशनका विषयमा पनि दुई नेताबीच छलफल भएको सचिवालयले जनाएको छ ।
लामिछानेको सचिवालयले भेटवार्तालाई आत्मीय र सौहार्दपूर्ण भनेको छ । सचिवालयका अनुसार पाँच घण्टासम्म चलेको छलफलमा विभिन्न पाँच समसामयिक विषयले प्राथमिकता पाएका थिए ।
यद्यपि, लामो समयसम्म चलेको भेटवार्ताबाट कुनै ठोस निर्णय भएको वा नयाँ सहमति जुटेको विषय भने सार्वजनिक गरिएको छैन ।
प्रधानमन्त्री तथा सत्तारूढ दलका सभापतिबीच भएको यो भेटलाई सरकार सञ्चालन, पार्टीसँगको समन्वय र आगामी निर्वाचनको तयारीका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ ।



