काठमाडौं, मंसिर ११ । निर्वाचन आयुक्त डा. राजीव सुब्बाले निर्वाचनलाई परम्परागत ढंगले सञ्चालन गर्दै आएको व्यवस्थामा परिवर्तन गर्नुपर्ने बताएका छन् ।
शुक्रवार ललितपुरमा निर्वाचन आयोगले चौथो पञ्चवर्षिय रणनीतिक योजनाबारे सरोकारवालाहरूसँग गरेको छलफल कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले अबको निर्वाचन प्रणाली, व्यवस्था र निर्वाचनसम्बन्धी सम्पूर्ण क्रियाकलापमा समयअनुकूल परिवर्तन आवश्यक रहेको बताए । अहिलेको निर्वाचन प्रक्रियाले विभिन्न कारणले धेरै नागरिकलाई मतदान गर्न कठिनाइ भइरहेको उनको भनाइ छ ।
सुब्बाले विदेशमा रहेका वा कामको सिलसिलामा एक जिल्लाबाट अर्को जिल्लामा पुगेका नागरिकलाई समेत मतदानको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए । योग्य सबै नागरिकले जुनसुकै अवस्थामा पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्ने उल्लेख गर्दै उहाँले यस मान्यताबाट पछि हट्न नहुने बताए । उनले अहिलेको निर्वाचन प्रक्रियाले धेरै नागरिकलाई असहज परिस्थितिमा पारेको भन्दै मतदानको अधिकारलाई सहज र सबैको पहुँचमा पुर्याउने गरी व्यवस्था गर्नुपर्ने बताए ।
उनले भने, ‘निर्वाचन अहिले जुन परम्परागत ढंगले चलिरहेको छ, चलिराखोस् भन्नुहुन्छ भने मेरो विमति छ । जे चलिरहेको छ, राम्रै छ, किन गर्नुपर्यो र ऐन ? भन्ने छ । अबको परिस्थितिमा हामीसँग त्यो सुविधा छैन । अबको निर्वाचन प्रणाली, अबको निर्वाचन व्यवस्था, अबको निर्वाचनका सम्पूर्ण क्रियाकलापहरूको दृष्टिकोणमा हामीले परिवर्तन गर्नैपर्छ । हाम्रा नागरिकहरूले विदेशमा होस्, चाहे कामको सिलसिलामा एउटा जिल्लाबाट अर्को जिल्लामा गएको किन नहोस् ? उहाँहरूको नैसर्गिक अधिकार हो भोट गर्न पाउने । जुनसुकै अवस्थाका नागरिक जो योग्य छन्, उनीहरूले भोट गर्न पाउनुपर्छ भन्ने हाम्रो सर्वमान्य मान्यता हो, यसबाट हामी पछि हट्न हुँदैन । अहिलेको परिस्थितिमा जो चुनाव भइरहेको छ, त्यसले धेरै व्यक्तिहरूलाई एक किसिमले अप्ठ्यारो परिस्थितिको सिर्जना गरेको छ ।’
उनले लोकतन्त्रलाई बलियो बनाउने मतदान नै भएको जिकिर गरे । आगामी निर्वाचनमा कतै न कतै अन्तरजिल्ला मतदान गर्ने व्यवस्था, विदेशमा रहेकाहरूलाई मतदानको अधिकार दिनुका साथै अनलाइन भोटिङको व्यवस्था गर्नु रहेको बताएका छन्।



