काठमाडौं,मंसिर १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले इनम सापकोटा प्रकरणमा उठेका आरोपहरूको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले इनम सापकोटाले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनले सार्वजनिक गरेका तथ्यहरूले राज्यको अनुसन्धान प्रक्रिया र विधिको शासनमाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरेका छन् ।
आइतबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले ‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापालगायत अन्य व्यक्तिहरूलाई लक्षित गरी सत्तापक्षबाटै बयानको पटकथा तयार पार्ने, हिरासतमा रहेका व्यक्तिको मोबाइल अनधिकृत व्यक्तिले जफत गरेर दुरुपयोग गरी तयार पारेको कागज पढ्न बाध्य पार्ने र नमाने फसाइदिने धम्की दिने काम भइरहेको हो भने यो सामान्य विषय नभएको’ उल्लेख गरेका छन्।
हिरासतमा रहेका इनम सापकोटामाथि बयानका लागि दबाब दिने, मोबाइल अनधिकृत रूपमा जफत गरी दुरुपयोग गर्ने तथा आफूअनुकूलको कागज पढ्न बाध्य पार्ने काम भइरहेको भन्ने आरोप गम्भीर रहेको बताएका छन् ।
अनुसन्धानका नाममा कसैलाई दबाब दिएर इच्छाअनुसारको बयान गराउन खोज्नु र राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गर्नु लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत भएको उनको भनाइ छ ।
उनले प्रधानमन्त्रीसँग इनम सापकोटा प्रकरणमा सरकारले निष्पक्ष अनुसन्धान गरिरहेको हो वा नियोजित रूपमा कसैलाई फसाउने षड्यन्त्र भइरहेको हो भन्ने प्रश्नसमेत गरेका छन् ।
‘यो केवल राजनीतिक प्रतिशोध र षड्यन्त्रको विषय मात्र होइन, राज्यका अनुसन्धानकारी निकायको विश्वसनीयता र लोकतान्त्रिक व्यवस्थामाथिकै गम्भीर चुनौती हो,’ आङ्देम्बेले भनेका छन् ।
सत्ता स्थायी नहुने तर राज्यका संस्थाहरूको विश्वसनीयता र कानुनी शासन स्थायी हुनुपर्ने उल्लेख गर्दै उनले सरकारलाई संविधान र विधिको शासनअनुसार सञ्चालन हुन आग्रह गरेका छन् ।
कांग्रेस नागरिक स्वतन्त्रता, लोकतन्त्र र विधिको शासनका पक्षमा दृढ रहेको बताउँदै आङ्देम्बेले इनम सापकोटा प्रकरणमा उठेका सम्पूर्ण आरोपको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषी देखिएकालाई कानुनबमोजिम कारबाही गर्न माग गरेका छन् ।
लोकतन्त्रमा फरक विचार राख्नेहरूलाई फसाउने पटकथा नभई न्याय सुनिश्चित गर्ने कानुन आवश्यक रहेको उनको भनाइ छ ।



