बुधबार, वैशाख २६ गते २०८१
Logo
बुधबार, वैशाख २६ गते २०८१

प्रचण्डले छोडेको चितवन –३ मा को कति बलियो ?

प्रचण्डले छोडेको चितवन –३ मा को कति बलियो ?

साझा पोष्ट
बिहीबार , मंसिर १ २०७९
  • images
    प्रचण्डले छोडेको चितवन –३ मा को कति बलियो ?
    images

    चितवन । प्रायः निर्वाचनमा चर्चामा रहेन जिल्ला हो चितवन । यही मंसिर ४ गते हुने निर्वाचनमा पनि चितवन चर्चामै छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमध्ये चर्चाको केन्द्रमा रहने चितवन क्षेत्र नम्बर ३ यसपटक पनि सुरवाती चरणबाटै चर्चामा रह्यो । 


    images
    images

    विशेष गरेर २०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नं ३ बाट निर्वाचित भएपछि यो क्षेत्र सधैँ चर्चामा रह्यो । यसपटक पनि प्रचण्ड यसै क्षेत्रबाट निर्वाचन लड्ने बताए पनि उनी गोरखा १ बाट चुनाव लड्दै छन् । यो क्षेत्रमा भने माओवादीको तर्फबाट चिकित्सक पेशा छाडेर डा भोजराज अधिकारी निर्वाचनमा होमिएका छन् । 

    सधै अस्पतालमा बिरामी जाँच्दै गरेका भेटिने डा अधिकारी अहिले चुनावी अभियानको क्रममा घरदैलोमै बिरामीको चेकजाँच गर्दै गरेको भेटिन्छन् । प्रचार प्रसारको अवधि सकिनै लाग्दा डा अधिकारीको दौडधुप झनै बढेको छ । सुरुमा आफ्नो एजेण्डा बुझाउन समय लागे पनि अहिले मतदातालाई आश्वस्त पार्न सफल भएको अधिकारी बताउँछन् ।  ।
     
    नेपाली कांग्रेसको बढी प्रभावको रुपमा रहेको यस क्षेत्रमा सत्तागठबन्धनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले चुनौती दिइरहेको छ । एक पटक सांसद बन्दा दुई पटक मन्त्री बनेका राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे यसै क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छन् । 

    विसं २०७४ को निर्वाचनमा कांग्रेसको सहयोगमा उम्मेदवारी दिएका पाण्डे प्रचण्डसँग पराजय भएका थिए । प्रचण्डले पाण्डेलाई नौ हजार तीन सय ४१ मतान्तरले पराजित गरेका थिए । 

    बाम गठबन्धनबाट चुनाव लडेका प्रचण्डले ४८ हजार दुई सय ७६ मत ल्याउँदा कांग्रेसको समर्थनमा निर्वाचन लडेका पाण्डेले ३८ हजार नौ सय ३५ मत पाएका थिए । उनी अहिले पाँचौँ पटक संसदीय निर्वाचनको प्रतिष्पर्धामा छन् । 

    बलियो पार्टीको रुपमा रहेको चितवन ३ मा यसपटक नेकपा एमालेले उम्मेदवार अठाएन । जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराए पनि अन्तिम समयमा फिर्ता लिए । नेपाली कांग्रेसको केन्द्रीय सदस्य त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरालालाई एमालेले समर्थन गरेको छ । 

    एमालेको बलमा कांग्रेसको मतसमेत पाएर चुनाव जित्ने रणनीतिमा कोइराला छन् । यो निर्वाचन क्षेत्रमा मुख्यगरी स्वतन्त्र उम्मेदवार कोइराला, गठबन्धनका साझा उम्मेदवार अधिकारी र राप्रपाका पाण्डेबीच त्रिपक्षीय भिडन्त हुने देखिन्छ ।

    यसै क्षेत्रमा कांग्रेसका पुराना नेता जगन्नाथ पौडेल पनि स्वतन्त्र हैसियतमा उम्मेदवार बनेका छन् । पौडेल यसअघि पनि स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवार बनेका थिए । 

    तत्कालीन भरतपुर नगरपालिकाको उपमेयर र एकपटक राष्ट्रियसभा सदस्य भएका पौडेलले पार्टी निर्णयको विरोधमा विद्रोह गरेर चर्चामा आएका हुन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो पक्षमा माहोल बनाउँदै लगेकाले पनि यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने देखिन्छ । दुई स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी निस्किृय बनाएसँगै यस क्षेत्रमा १८ उम्मेदवार प्रतिस्पर्धामा छन् । 

    भरतपुरका १९ वटा वडा र माडी नगरपालिका चितवन क्षेत्र नं ३ मा पर्छन् । यस क्षेत्रमा कूल एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन् । यो सबैभन्दा बढी मतदाता भएको क्षेत्र हो । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनबाट माओवादीकी रेनु दाहाल र राप्रपासँगको तालमेलबाट माडी नगरपालिका प्रमुखमा एमालेकी ताराकाजीकुमारी महतो निर्वाचित भएका छन् ।  

    उक्त निर्वाचनमा गठबन्धनमा रहेका दलका वडाध्यक्षका उम्मेदवारले ४५ हजार एक सय ७२, एमालेका उम्मेदवारले ३० हजार छ सय नौ र राप्रपाका उम्मेदवारले सात हजार चार सय ५४ मत पाएका थिए ।

    स्थानीय तह निर्वाचनमा चितवन ३ अन्तर्गत पर्ने २९ वडामध्ये नेपाली कांग्रेसले १० वटा, एमालेले चार वटा, माओवादी केन्द्रले सात वटा, एकीकृत समाजवादीले चार वटा, राप्रपाले दुई वटा र स्वतन्त्र उम्मेदवार एक जनाले वडाध्यक्ष जितेका थिए । 

    वडाअध्यक्षले पाएको एकीकृत मतमा एमालेले २९ हजार सात सय ७१, नेपाली कांग्रेसले २९ हजार तीन सय ४३, माओवादी केन्द्रले १० हजार नौ सय ४०, राप्रपाले छ हजार एक सय ९८, एकीकृत समाजवादीले पाँच हजार ३७ र स्वतन्त्र तथा अन्य पार्टीले तीन हजार पाँच सय ५९ मत पाएका थिए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार