
काठमाडौं । गृह सचिव विनोद प्रकाश सिंहले मिटर ब्याज पीडितलाई धर्नाका कार्यक्रम स्थगन गर्न आग्रह गरेका छन् । मंगलबार धर्नास्थल टंगाल पुगेर पीडितलाई भेटेका सचिव सिंहले धर्ना स्थगित गर्न आग्रह गरेका हुन् ।
पीडितलाई न्याय दिलाउन सरकारले कानुनी पहल गरिरहेको उनले बताएका थिए । गृह सचिवसँगको भेटमा आफूहरुले प्रधानमन्त्रीलाई भेटेर पीडा सुनाउन चाहेको संघर्ष समितिका संयोजक मनोज पासवानले बताए ।प्रधानमन्त्रीसँग कुरा गराउने भनेर सचिव सिंह गएको उनले बताए ।
गृहसचिवले आफूहरुसँग माग पत्र मागेको तर सोमबार राति प्रहरीले धरपकड गर्दा माग पत्र हराएका कारण दिन नसकेको पासवानले बताए ।संघर्ष समितिको समन्वय गरिरहेका सन्तोष दाहालका अनुसार पीडित माथि चलेका मुद्दा तत्काल यथास्थितिमै रोक्ने निर्णय गरे मात्रै वार्ता हुने शर्त पनि गृहसचिवसँगलाई राखिएको छ ।अब धर्नाको कार्यक्रम भद्रकालीमा र त्यसपछि नयाँ बानेश्वरमा संसद भवन अगाडि हुने छ ।