काठमाडौं । कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतक बनाएपछि लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको छ।
शुक्रबार राति भएको खेलमा चेन्नईले दिएको १७७ रनको लक्ष्य लखनउले १९ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । लखनउका कप्तान राहुलले सर्वाधिक ८२ रन बनाए। ५३ बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गरे।
डि ककले ४३ बलमा ५ चौका र १ छक्कासहित ५४ रन बनाए। राहुल र डि ककबीच पहिलो विकेटका लागि १३४ रनको विशाल साझेदारी भएको थियो।
निकोलस पूरन २३ र मार्कस स्टोइनिस ८ रनमा नटआउट रहे। चेन्नईका मुस्ताफिजुर रहमान र मथिशा पाथिरानाले १–१ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले महेन्द्रसिंह धोनीको आक्रामक ब्याटिङसँगै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो।
चेन्नईका लागि धोनीले ९ बलमा ३ चौका र २ छक्कासहित २८ रनको आक्रामक इनिङ्स खेले। अन्तिम ओभरमा मात्रै धोनीले २ चौका र १ छक्कासहित १९ रन बनाएका थिए।
अजिंक्य रहाणे ३६, मोइन अली ३० र कप्तान ऋतुराज गायकवाड १६ रनमा आउट हुँदा रविन्द्र जडेजाले नटआउट ५७ रन जोडे । उनले ४० बलको सामना गरे ।
लखनउका कृणाल पाण्ड्याले सर्वाधिक २ विकेट लिए। मोहसिन खान, यश ठाकुर, रवि बिश्वोई र मार्कस स्टोइनिसको नाममा १–१ विकेट रह्यो।
जितसँगै लखनउ पाँचौँ स्थानमा उक्लिएको छ।