काठमाडौं । खानेपानी महसुल वृद्धिको निर्णयबाट धरान उपमहानगरपालिका पछि हटेको छ ।
आइतबार राति अबेरसम्म चलेको १० दलका प्रतिनिधि र नगरप्रमुख हर्क साम्पाङबीच भएको वार्तामा महसुल वृद्धिको निर्णय फिर्ता लिने लगायतका तीन बुँदे सहमति भएको हो ।
वार्तामा खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई फिर्ता लिने, सात दिन भित्र खानेपानी बोर्डको हिसाब सार्वजनिक गर्ने र बोर्डको पूर्णताबारे उच्च अदालतको फैसला मान्ने सहमति भएको बताइएको छ ।
तीन सातादेखि आन्दोलनमा उत्रिएका दल र स्थानीय उपभोक्ताले यो सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । वार्तामा भएको सहमति आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिँदै छ ।
वार्तामा खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई फिर्ता लिने, खानेपानी बोर्डको पूर्णता बारे उच्च अदालतको फैसला मान्ने र सात दिन भित्र बोर्डको हिसाब सार्वजनिक गर्ने सहमति भएको छ । उपमहानगरपालिका कार्यालयभित्र वार्ता भइरहँदा बाहिर उपभोक्ता र दलका प्रतिनिधिले धर्ना दिएका थिए ।




