काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले विदेशमा बस्ने नेपालीलाई कमाइको १० प्रतिशत नेपालमा लगानी गर्न आह्वान गरेका छन्।
शनिबार बेलायतको लिभरपुलमा लिभरपुल नेपाली समाज, यूकेले आयोजना गरेको नागरिकता, सम्पत्ति, भूपु गोर्खाको अधिकार र लगानीसम्बन्धी अन्तर्क्रियामा डा. केसीले विदेशमा बस्ने नेपालीलाई नेपालमा पनि लगानी गर्न आग्रह गरेका हुन्।
‘नेपालसँगको सम्बन्ध निरन्तरताका लागि नेपालमा लगानी गर्न जरुरी छ। विदेशमा कमाएको १० प्रतिशत मात्र लगानी नेपालमा गर्न सके देश समृद्धिको बाटोमा लाग्छ र दोस्रो पुस्ताको कनेक्सन रहन्छ। त्यसैले नेपालमा लगानी गरौँ।’ उनले भने ।
डा. केसीले नेपालमा लगानीलगायत च्यारिटीका काम गर्न पनि अनुरोध गरे। गैरआवासीय नेपाली संघको पहलकै कारण नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकताको ग्यारेन्टी गरेको उनले बताए। उनले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा भएका कठिनाइ छिट्टै हट्ने जानकारी पनि दिए।



