काठमाडौं । झापामा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका–६ गिरि बन्धु टी–स्टेटअगाडि बिहान सगरमाथा यातायातको प्र.१–०१–००१ ख ४४५९ नम्बरको बस दुर्घटना भएको हो।
विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गर्दा बिहान करिब ९ः३० बजे अनियन्त्रित भई बस पल्टिएको हो। दुर्घटनामा सुनसरीको इटहरी नगरपालिका–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र बसका सहचालक रङ्गेली नगरपालिका–२ का ४२ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
घाइेत सबैको स्थानीय बीएण्डसी अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस चालक फरार छन् ।




